आइतबार हुने प्रधानमन्त्री निर्वाचनका लागि माओवादीबाट भट्टराई र कांग्रेसबाट पौडेलद्दारा उम्मेदवारी दर्ता

Click on the slide!

 

काठमाडौं – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट बाबुराम भट्टराई र कांग्रेसबाट रामचन्द्र पौडेलले आइतबार हुने प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। माओवादी भट्टराईले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका थिए भने कांग्रेस पौडेलले साढे १२ बजेपछि उम्मेदवारी दर्ता गराएका हुन्। 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल भट्टराईका प्रस्तावकमा र समर्थकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा रहेका छन्। त्यसैगरी महामन्त्री प्रकाशमान सिंह पौडेलको प्रस्तावकमा रहेका छन् भने विमलेन्द्र निधिले समर्थन गरेका छन्। 

भदौ ११ गते आइतबार संसदमा हुने निर्वाचनका लागि आज बिहान ११ देखि ४ बजेसम्म संसद् सचिवालय, सिंहदरबारस्थित महासचिवको कार्यकक्षमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। तर एमाले र मधेसी मोर्चाले आफ्नो दावेदारी प्रस्तुत नगरेकाले थप उम्मेदवारी पर्ने देखिँदैन। 

सभामुखको निर्देशनमा संसदका महासचिव मनोहर भट्टराईले प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार आजै अपराह्न साढे ४ बजे उम्मेदवारको सूचना दर्ताक्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम छ।


निर्वाचन कार्यक्रमअनुसार आइतबार दिउँसो १ बजे बस्ने संसद बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिनेछ।


संविधानसभामा हाल कायम ५ सय ९४ सभासद्को बहुमत अर्थात् कसैले पनि २ सय ९८ मत नपाए यो प्रक्रिया तीनपटकसम्म दोहोर्‍याउने संसद्को कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ।


एउटैमात्र सूचना दर्ता भएमा भने सोही बैठकबाट निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। दुईभन्दा बढी उम्मेदवार भएर परिणाम नआए बढी मत पाउने दुईजना उम्मेदवार कायम राखी आइतबारै अर्को चुनाव गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख नेम्वाङले सुनाएका थिए।


तीनपटक निर्णयार्थ पेस गर्दा पनि परिणाम नआए निर्वाचन प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया थालिनेछ। संशोधित नियमावली अनुसार कुनै पनि सभासदले तटस्थ बस्न वा अनुपस्थित हुन पाउँदैनन्।