एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्। भने अर्का

प्रतिष्पर्धी रामचन्द्र पौडेलले २३५ मत प्राप्त गरे ।
पौडेल भन्दा १०५ मत वढी ल्याएर भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । संसदमा तत्काल कायम रहेको कुल सदस्य संख्या ५९४ मध्ये ५७५ जनाले मतदान गरेका थिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित राष्ट्रिय जनमोर्चा, माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत सहितका ११ वटा साना दलले भट्टराइको पक्षमा मतदान गरे भने तेस्रो ठूलो दल एमाले र केहि साना दलले पौडेललाई मत दिएका थिए । राप्रपा नेपाल र नेमकिपाले भने आजको मतदान बहिष्कार गरे । अब माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री चुनिएसँगै नेपालको संसदीय इतिहासमै पहिलो पटक काँग्रेस र एमाले एकसाथ प्रतिपक्षमा रहनेछन् ।
यो निर्वाचनसँगै २०६२-६३ को संयु्क्त जनआन्दोलनका मुख्य शक्ति एकसाथ प्रतिपक्षमा पुगेका छन् भने त्यसपछि मुलधारको राजनीतिमा आएका एकीकृत माओवादी र मधेशी मोर्चा एकसाथ सरकारमा पुगेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पहिलो प्राथमिकता शान्ति प्रक्रिया टुंगोमा पुर्याउँदै संविधान निर्माण गर्नु नै रहेको बताए । संविधानसभा भवन बानेश्वरमा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै डा. भट्टराईले सरकारलाई सहमतीय स्वरुप दिन भोलिदेखि नै आफु लागि पर्ने पनि प्रष्ट गरे ।
बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ।
३५ औं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको बारेमा