




काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी रहेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी दोस्रो दिनको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

यस अघि बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावित नयाँ विधानमा एमालेको केन्द्रमा तीनवटा संरचना हुने, जसमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै राख्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३ र सचिव ७ सहित १५ जनाको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २५१ राख्ने प्रस्ताव गरिएको छ भने हाल रहेको वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ । हाल एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय छ भने पदाधिकारीको संख्या १९ छ । त्यस्तै सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेर हद हटाउन प्रस्ताव पास गरेको छ ।

पोलिटब्युरोबाट पारित प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुँदैछ ।



