काठमाडौ – नेकपा एमाले प्रतिपक्षमा बस्छ । एमाले राष्ट्रिय सहमतिका लागि लडेको पार्टी हो, फेरि पनि यसैका लागि लडिरहनेछ । बहुमतीयको सरकारले शान्ति र संविधान टुंग्याउन सक्दैन । यसअघि पटक-पटक परीक्षण गर्दा यो पुष्टि भइसकेको छ । राष्ट्रिय सहमति आवश्यक छ । फेरि पनि बहुमतको सरकार बनेको छ, यसले शान्ति र संविधानलाई टुंगोमा पुर्याउन सक्दैन । तर हाम्रोतर्फबाट शान्ति र संविधानलाई टुंगोमा पुर्याउने कार्यक्रम रचनात्मक सहयोग र अधिकतम पहल गर्छौं । तीनवटै प्रमुख शक्तिबीचको सहमतिबाट मात्र शान्ति र संविधान टुंगोमा पुग्ने कुरा कसैले बिर्सनु हुँदैन । यो संक्रमणकालका लागि कामचलाउ सरकार हो ।
राष्ट्रिय सहमतिको सरकारले मात्र सबै कुरा समाधान गर्न सक्छ । यही सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिन अत्यन्त गाह्रो कुरा हो । सरकारलाई हामी कामको आधारमा समर्थन र विरोध गर्छौं । राम्रा काममा समर्थन रहन्छ, नराम्रा कामको विरोध हुन्छ । माओवादी र मधेसी दलहरूबीचको गठबन्धन प्रमुख दलबीचको असमझदारीको परिणाम हो । बहुमतीय सरकारका लागि यसअघि विभिन्न विकल्प परीक्षण भएका थिए । यही मात्र एउटा विकल्प बाँकी थियो, त्यसको पनि अब परीक्षण हुँदैछ ।
झलनाथ खनाल
निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष