नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेपालमै बनेको ‘मुस्ताङ’ गाडी

Nepal's newly elected Prime Minister Dr. Baburam Bhattarai waves with his wife Hisila Yami as they walk out from Parliament after Bhattarai was elected Nepal's 35th Prime Minister, in Kathmandu

 

-केदार ओझा, कान्तिपुर

 

काठमाडौ – नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढ्ने नेपालमै बनेको ‘मुस्ताङ’ गाडी गृहमन्त्रालय ल्याइ पुर्याएको छ । गृहका कर्मचारीहरु झण्डा लगाएर पुर्याउने तयारीमा छन् ।


बा१झ ९३६० नम्बरको उक्त गाडी पहिलो पटक देखेको भन्दै गृह मन्त्रालयकै कर्मचारीहरु हेर्न झुम्मिएका छन् ।


प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि भट्टराईले आइतबार दिउँसो १२ बजे नै आफूले नेपालमै बनेको ‘मुस्ताङ जिप’ चढ्ने इच्छा व्यक्त गरेका थिए ।

स्रोतका अनुसार फोनमा निर्देशन पाएलगत्तै दिउँसो १ बजेदेखि नै गृह मन्त्रालय गाडीको खोजीमा लागेको थियो । एक बजे निर्वाचन प्रक्रिया सुरु भए पनि साढे ६ बजे मात्रै भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भट्टराईले दिउँसै मुस्ताङ गाडी मगाएर त्यसमा राष्ट्रिय झन्डा लगाउने व्यवस्था गर्न उच्च सरकारी एक अधिकृतलाई आग्रह गरे पनि आइतबारै त्यो सम्भव भएन ।

‘गाडी त पाइने भयो तर दर्ता प्रक्रिया र नम्बर हालिनसकेकाले आइतबारै ल्याउन सकिएन, सोमबार मुस्ताङ जिप आउँछ,’ गृह मन्त्रालयमा मन्त्रीहरूलाई गाडीको व्यवस्थापन गर्ने एक उच्च अधिकृतले आइतवार कान्तिपुरसँग भनेका थिए ।

प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार भट्टराईले राष्ट्रपति रामवरण यादवबाट शपथ ग्रहण गरेपछि मुस्ताङ जिप चढेर बहालीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय आउने कार्यक्रम छ ।

३५ औं प्रधानमन्त्रीलाई कुन गाडी उपलब्ध गराउने भन्ने सोचमा अलमलिएको गृह मन्त्रालयका अधिकारीहरू अकस्मात् नामै नसुनेको गाडी प्रधानमन्त्रीका लागि खोजी हुँदा चकित परेका थिए । निवर्तमान प्रधानमन्त्रीले आफूले चढेकै गाडी लिएर जाने परम्पराका कारण गृह मन्त्रालय जहिल्यै नयाँ प्रधानमन्त्रीलाई दिने गाडीको खोजीमा चिन्तित हुने गर्छ । पूर्वप्रधानमन्त्री र मन्त्रीहरू कसैले गाडी नफर्काएको अवस्थामा गृहलाई सधैं यस्तो समस्या आइलाग्ने गरेको हो । ‘सरकारमा रहँदा सबै राम्रा र नयाँ गाडीहरू मन्त्रीहरूले नै चढेका हुन्छन्, तत्काल नफर्काउने गरेकाले नयाँ सरकार बनेलगत्तै सधैं यस्तो समस्या आउँछ,’ गृहको एक अधिकृतले भने । शपथपछि भट्टराईले चढ्न खोजेको मुस्ताङ गाडी नेपालमै बनाइएको पहिलो गाडी हो । यो गाडी हुलास मोटर्स कम्पनीले भारतबाट पार्टस्हरू आयात गरी नेपालमा फिटिङ्स गरेर तयार गर्ने गर्छ । भारतमा विभिन्न कम्पनीले उत्पादन गर्ने जिपजस्तै यो गाडी समथर र पहाडी बाटोका लागि भरपर्दोसमेत मानिन्छ । ‘पदमा रहँदा या पदमुक्त हुँदा करोडौंको गाडी जबर्जस्ती लैजाने अन्य नेताहरूको बानी र परम्परालाई व्यंग्य गर्दै भट्टराईले यस्तो गाडी चढ्ने इच्छा व्यक्त गरेका हुन सक्छन्,’ गृहका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले मन्त्री र उच्च कर्मचारीलाई सन्देश दिन खोजेका छन्, अरूलाई पनि मितव्ययी बनाउन नसके उनी एक्लोले यस्तो गाडी चढ्नुको अर्थ रहनेछैन ।’

कस्तो हो मुस्ताङ जिप ?

भीम घिमिरे

विराटनगर- डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको यहाँको १७ नम्बर वडास्थित हुलास मोटर्स कम्पनीमा इन्जिनियर प्रफुल दास आइतबार निकै हषिर्त थिए । कारण थियो, नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वदेशमै उत्पादित गाडी हुलास मुस्ताङ चढ्ने चाहना ।

आइतबार सदनमा निर्वाचन भइरहँदा दास कारखानामा उत्पादन भइरहेका गाडीमध्ये प्रधानमन्त्रीका लागि उपयुक्त हुने के-के सुविधा थप्न सकिन्छ भन्दै योजना गरिरहेका थिए । डा. भट्टराईले मुस्ताङ म्याकस चढ्ने खबर कारखानाभरि सबैले थाहा पाए । हर्ष बाँडे ।

‘हामीले अहिले उहाँलाई दिएको डमी गाडी हो,’ इन्जिनियर दास भन्छन्, ‘बढीमा डेढ महिनाभित्र हामी उहाँलाई मुस्ताङ म्याक्स अत्याधुनिक गाडी उपलब्ध गराउँछौं ।’ उनका अनुसार २५४० सीसीको डिजेल इन्जिन उक्त गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी छ । मुस्ताङदेखि ताप्लेजुङ र संखुवासभासम्म टेस्ट ड्राइभमा आफैं गएर क्षमता वृद्धिका लागि काम गरेका दास भन्छन्, ‘यो बाहिरबाट आयात भइरहेका लग्जरीयस गाडीभन्दा सस्तो, कम खर्चिलो र सर्भिसिङको धेरै झन्झट नपर्ने खालको छ ।’

मुलुककै एकमात्र स्वदेशी गाडी उत्पादक कारखाना प्रतिस्पर्धाको बजारमा आफ्नै गतिमा छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो । किसानका लागि उपयोगी हुने पावरकार्टबाट उत्पादन थालेको उक्त कम्पनीले असजिलो कर प्रणाली र प्रतिस्पर्धात्मक बजारमा नाक जोगाउनकै लागि काम जारी राखेको महाप्रबन्धक सुरेन्द्र गोल्छा बताउँछन् । भन्छन्, ‘हामीले उत्पादन थाल्यौं, कम्पनी नाफामा जान सकेन । तर नाककै लागि पनि उत्पादन रोकेका छैनौं, जारी छ ।’

पछिल्ला एक दशकमा डिजाइनमा गरिएका फेरबदलले हुलास मुस्ताङ म्याक्सम्म आइपुगेको उत्पादन केही राहत दिने खालेको भएको उनले बताए । हुलास मोटर्सले गाडी उत्पादनका लागि केही सामान चीन, केही भारतीय कम्पनी र चेसिजलगायत केही पूर्वाधारका सामान आफैं बनाएर गाडी तयार पार्ने गरेको छ । गोल्छा भन्छन्, ‘हाम्रो प्रचार भड्किलो छैन, जसले गाडीको क्षमता बुझ्छन्, उनीहरूले खोज्छन् । हामी बनाएर दिन्छौं ।’ उनका अनुसार १४ लाखदेखि सुविधाअनुसार बढीमा २० लाखसम्म पर्ने मुस्ताङ गाडीमा गोरखकालीका टायर प्रयोग गरिएका छन् । सिट र बनोटमा धेरै सामान स्वदेशमै उत्पादन गरिएका उपयोग भएका छन् । 

एउटा लटमा ३/३ दिनको फरक पारेर पाँच गाडी उत्पादन गर्न छिटो गरे ५२ दिन लाग्ने प्राविधिकहरूको भनाइ छ । प्रधानमन्त्रीले नै स्वेदशी गाडी चढ्ने भएपछि उत्पादन प्रवर्द्धनका निकै आशावादी देखिएका गोल्छा भन्छन्, ‘धेरै उतारचढाव भोगेर पनि हामीले कारखानालाई बन्द गरेनौं । बरु चाहिने पूर्वाधार थप्दै ल्याएका छौं । नेपाली उत्पादनको दिन फेरिन्छ भन्ने आस लागेको छ ।’