




नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उठ्न जमर्को गरेपनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको बताउनु भयो । उहाँले नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु,ले नेपाल राज्यलाई विध्वंश बनाइरहेको बताउनु भयो । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएको उल्लेख गर्नुभयो । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ । संघीय निजामति विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरु अपमानित हुनेगरी चलखेल र छेडखानी कसले ग¥यो ? अदालत, व्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन नेपालमा । उठ्न जमर्को गरेपनि त्यो उठ्नेवाला पनि होइन ।’
अध्यक्ष दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने संकल्प गर्न जरुरी रहेको बताउनु भयो ।



