




काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्टहरु एकतावद्ध हुनु राम्रो कुरा भएको पनि बताउनु भयो । सही विचार नभइकन एकतावद्ध गर्न नसकिने उहाँको भनाइ छ । सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको बताउनु भयो । नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आइपुगेको बताउनु भयो । कम्युनिष्टहरुको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद भएको बताउनु भयो ।


नेता खनालले भन्नुभयो, ‘कम्युनिष्टहरु एकतावद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो । तर भवनाले मात्रै एकता पक्कै हुँदैन । सही विचार नभइकन एकतावद्ध गर्न सकिँदैन । सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हो । माक्र्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ । माक्र्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो ।’
सम्मानित नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पुँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने बताउनु भयो ।



