आफू नेतृत्वमा सरकार बनेपछि जुनकिरीले बत्ति बालेर उज्यालो देखाएजस्तै जनतामा आशा र भरोसा पलाएको प्रधानमन्त्री भट्टराईको भनाई


सिन्धुलीमाढी  – आफू नेतृत्वमा सरकार बनेपछि जुनकिरीले बत्ति बालेर उज्यालो देखाएजस्तै जनतामा आशा र भरोसा पलाएको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीमा मंगलबार आयोजित सातौं विशाल-कुमार स्मृति सभामा प्रधानमन्त्री भट्टराईले सरकारले पाँचवटा कामलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘शान्ति प्रकृयालाइ तार्किक निष्कर्षमा पुर्‍याउने, संविधानसभा मार्फत अग्रगामी संविधान बनाउने, जनतालाई राहतको कार्यक्रम, सुसासन कायम गर्ने र आर्थिक बृद्धिदर गरि गरिबी घटाउने कार्य सरकारको प्राथमिकतामा छ,’ उनले भने ।

प्रधानमन्त्री निर्वाचित भएको नवौं दिन सिन्धुली आएका भट्टराईको राजधानी बाहिरको यो पहिलो कार्यक्रम हो । सभामा माओवादी सचिव सीपी गजुरेलले क्रान्ति पुरा नभइ आधा बाटोमा भएकाले छाडेर काँही जान नसकिने बताए । माओवादी फुटोस् भन्ने धेरैको चाहना भए पनि एक ढिक्का भएर अर्को चमत्कार देखाइदिने दाबी गरे ।