पाकिस्तानको गुप्तचर संस्था आईएसआईले नेपाली भूमि प्रयोग गरी भारतविरुद्ध आतंकवादी गतिविधि सञ्चालन: विकिलिक्स

पाकिस्तानको गुप्तचर संस्था आईएसआईले नेपाली भूमि प्रयोग गरी भारतविरुद्ध आतंकवादी गतिविधि सञ्चालन गरेको विकिलिक्सले सार्वजनिक गरेको छ । नेपालबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणदेखि लिएर भारतमा आरडीएक्स पुर्‍याउनसमेत आईएसआईले नेपालको भूमि प्रयोग गरेको अमेरिकी केबलमा दाबी गरिएको छ ।

केबलमा आईएसआईले विभिन्न आतंकवादी संस्थालाई नेपालको भूमिमा सक्रिय बनाएको बताएको छ । यसैक्रममा आईएसआईले काठमाडौंमा जम्मु कस्मिर इस्लामिक फ्रन्ट गठन गरेको र भारतमा हतियार तथा विष्फोटक पदार्थ पठाउन कस्मिरी मूलका व्यापारी प्रयोग गरेको दाबी गरेको छ । फ्रन्ट प्रमुख जावेद करवाह काठमाडौंमा गलैंचा व्यापारमा संलग्न भएको भारतका लागि तत्कालीन अमेरिकी राजदूत फ्रयाङ्क विजनरले बताएका थिए ।

सन् १९९६, मे २१ मा दिल्लीको लाजपट नगरमा गरिएको विष्फोटमा १३ जनाको मृत्यु भएको र ४० जना घाइते भएका थिए । उक्त विष्फोटमा प्रयोग गरिएको विष्फोटक पदार्थ काठमाडौंबाट लगिएको उक्त केबलमा बताइएको छ । यसैगरी दिल्ली वरपर तथा राजस्थानमा ९० को दशकमा भएका विष्फोटमा जम्मु कस्मिर इस्लामिक फ्रन्टको हात रहेको भन्दै त्यसमा प्रयोग भएका विष्फोटक पदार्थहरु नेपालको बाटो हुँदै भारत पुर्‍याइएको दाबी केबलमा गरिएको छ ।