प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेल र प्रेस सल्लाहकारमा रामरिजन यादवलाई नियुक्त

काठमाडौं  – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेललाई नियुक्त गरिएको छ।

प्रधानमन्त्रीको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी पोलिट्ब्युरो सदस्य पौडेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा माओवादी केन्द्रीय सदस्य रामरिजन यादवलाई नियुक्त भएका छन् ।

बैठकले निवर्तमान राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाको राजीनामा स्वीकृत गर्दै आयोगको उपाध्यक्षमा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरेको छ । आयोग सदस्यमा जनक शाह र शिवकुमार राईलाई नियुक्त भएका छन् ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

यसैगरी सरकारले राहत कार्यक्रमलाई अन्तिमरुप दिन चार मन्त्रीलाई जिम्मा दिएको छ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेष त्रिपाठी, ऊर्जा मन्त्री पोष्टबहादुर बोगटी, स्वास्थ्य मन्त्री राजेन्द्र महतो र अर्थमन्त्री वर्षमान पुनलाई जिम्मा दिएको हो ।

प्रधानमन्त्रीले तयार गरेको राहत कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेपछि परिमार्जनको जिम्मा चार मन्त्रीलाई दिइएको हो । कार्यदलले शुक्रबार नै राहत कार्यक्रमलाई अन्तिमरुप दिने सरकारका प्रवक्ता मन्त्री श्रेष्ठले जानकारी दिए ।

बैठकले सार्वजनिक सेवालाई समावेशी बनाउन संसदमा विचाराधिन विद्येयक फिर्ता लिएर संशोधन गर्ने निर्णय गरेको छ । सार्वजनिक कार्यक्रममा राष्ट्रिय पोशाक अनिवार्य गर्ने माधवकुमार नेपाल सरकारको निर्णय सच्याउने भएको छ ।

प्रधानमन्त्री भट्टराईको नेतृत्वमा आगामी अशोज २ गते १३ सदस्यीय टोली संयुक्त राष्ट्रसंघको महासभामा जाने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको कामु सचिवमा दुर्गा भट्टराईलाई नियुक्त गरेको छ । अवकाश पाएका पूर्व सचिव मदन भट्टराईलाई यसअघिको सरकारले जापानको राजदूत सिफारिस गरेको थियो ।