– समुन्द्र पौडेल
– प्राप्त समाचार अनुसार एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी शीर्षनेता आज हेलिकप्टरबाट गोरखा जाने कार्यक्रम छ। अध्यक्ष, तीनै उपाध्यक्ष र महासचिव गोरखा जाने भएपछि एकीकृत माओवादीले कार्यकर्ता ओसार्न १ सय १५ बस रिजर्भ गरेको छ।
शुक्रबार यहाँ १२ औं सुरेश वाग्ले स्मृति सभामा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले सम्बोधन गर्न आउँदैछन् ।
कन्टेनरमा रहेको लडाकुको साँचौ बुझाएका सन्दर्भमा ब्यापक विवाद रहेको बेला माओवादी पाँचै नेता एउटै मञ्चमा देखा पर्न लागेका हुन् । गोर्खा प्रधानमन्त्री भट्टराईको गृहजिल्ला समेत हो ।
काठमाडौंबाट शुक्रबार शीर्षनेता जाने भएपछि कार्यकर्तालाई कार्यक्रमस्थल लैजान माओवादीले गोरखा यातायात व्यवसायी समितिका ६१, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका ४४ र तनहुँस्थित व्यास भूमि यातायात व्यवसायी समितिका १० बस व्यवस्था गरेको हो।
ग्रामीण क्षेत्रका १५ रुट र राजमार्ग छेउका गाविसलाई पायक पर्ने ठाउँबाट सहभागी ओसारिने यातायात समितिका संयोजक गुणराज देवकोटाले बताए।
१५ हजार मानिस लैजाने योजना रहे पनि २५ हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने माओवादी गोरखाको अनुमान छ। माओवादीले जिल्लाका सबै सवारी रिजर्भ गरे पछि गोरखाबाट बाहिरिने यात्रुलाई भने समस्या हुने भएको छ। ‘सदरमुकाममा पहिलोपटक यति ठूलो कार्यक्रम गर्न लागेका हौं,’ माओवादी जिल्ला सेक्रेटरी चुडामणि खड्काले भने, ‘जिल्ला बाहिर जाने यात्रुले माइक्रोबस प्रयोग गर्न सक्छन्।’
शुक्रबारकै कार्यक्रमका लागि वर्षाले बिग्रेका गोरखाका कच्ची सडक मर्मत गरिएको छ भने दरौंदी नदीको सतह फराकिलो बनाई यातायात चल्नसक्ने बनाइएको छ।