नेपालमा सरुवाभन्दा नसर्ने रोगको असर दिन प्रतिदिन बढिराखेकामा जनस्वास्थ्यकर्मीले चिन्ता व्यक्त

काठमाडौँ – नेपालमा सरुवाभन्दा नसर्ने रोगको असर दिन प्रतिदिन बढिराखेकामा जनस्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्। कुल मृत्युमध्ये ४२ प्रतिशत नसर्ने रोगकै कारणबाट भएको भन्दै उनीहरुले यसलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ध्यान दिन आग्रह गरे।


विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल जनस्वास्थ्य प्रतिष्ठानद्वारा नसर्ने रोगसम्बन्धी आज आयोजित छलफलका सहभागीले सो आग्रह गर्दै नसर्ने रोगले जनस्वास्थमा गम्भीर असर पुर्‍याइरहेको बताए।


धूमपान, मदिरा सेवन, असन्तुलित खाना एवम् शारीरिक व्यायामजस्ता कारणबाट उत्पन्न हुने मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगले अकालमा धेरैको ज्यान जाने गरेको छ।


सङ्गठनले आगामी सन् २०३० सम्म नेपालमा हुने मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने पनि प्रक्षेपण गरेको छ। गरिबी, अशिक्षा, स्वास्थ्य सेवामा गरिब तथा विपन्न जनताको कम पहुँच आदिका कारण नसर्ने रोग लाग्नेबित्तिकै उपचार सेवा लिन नसकिरहेको जनाइएको छ।


नेपालमा कति जनाको नसर्ने रोगका कारण बर्सेनि मृत्यु भइरहेको छ भन्ने यकिन तथ्याङ्क नभए पनि दक्षिण एसियामा करिब नौ लाखको मृत्यु हुने गरेको सङ्गठनको तथ्याङ्क छ।


कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले नसर्ने रोगको नियन्त्रणका लागि मन्त्रालयले कार्यनीति बनाई लागु गरेको जानकारी दिए।


भारतका प्रा डा ललित नाथले नसर्ने रोगले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्दै गएको हुनाले यसको नियन्त्रणमा समाजलाई जानकारी दिन आवश्यक भएको बताए।


सङ्गठनका नेपाल प्रतिनिधि डा लिन आङले विकसित देशको तुलनामा विकासोन्मुख देशमा नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरिरहेको हुनाले यसतर्फ सरकारको ध्यान जानु आवश्यक हुन्छ भने।


प्रतिष्ठानका अध्यक्ष डा महेश मास्के र डा शरद वन्तले नसर्ने रोगको नियन्त्रणमा समयमै सबैको ध्यान जानु जरुरी रहेको बताए।


कार्यक्रममा नसर्ने रोग नियन्त्रणसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत हुने छ।

 

– रासस