मुसाकै कारण अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र जहाज हङकङ ग्राउन्डेड गर्नुपरेपछि निगमले घाटा बेहोरेको हो । बुधबार क्वालालम्पुर उडान गर्ने तालिका भए पनि जहाज नभएकाले रद्द भयो । निगम स्रोतका अनुसार यो सेक्टरमा उडान नहुँदा एकपटकमा (आउने/जाने) ७० लाख रुपैयाँ घाटा हुन्छ ।
त्यस्तै सोमबार उडान हुन नसक्दा बैंकक जाने यात्रुलाई थाईबाट पठाउनुपरेको थियो । यसबाट एकतर्फी आम्दानी २२ लाख ४१ हजार गुमाउनु त पर्यो नै थाईलाई अतिरिक्त ४ लाख रुपैयाँ तिर्नुपर्यो । ‘बैंककको उडान नहुदाँ (दुईतर्फी) गरी करिब ४० लाख रुपैयाँ निगमलाई घाटा भयो,’ स्रोतले भन्यो, ‘हङकङ गएको जहाज नफर्किंदा २५ लाख गुमेको छ ।’ घाटाका साथै यो दुई दिन अन्तर्राष्ट्रिय उडानमा निगम जहाजविहीन हुनुका साथै साखसमेत गुमाएको छ ।
बैंकक उड्न तयार रहेको जहाजमा चिया, कफी, फलफूल, पाउडर दूध, बियर आदि राखिने ‘ड्राई क्याटरिङ बक्स’ बाट मुसा दौडिएको देखिएपछि रद्द भएको थियो । त्यसको ११ घन्टामा मुसा समातिएको र त्यसपछि राति साढे ११ बजे मलेसिया उडान गरिएको व्यवस्थापनको दाबी छ । फेरि मंगलबार हङकङ अवतरण गर्ने बेला ककपिटमा मुसा उफ्रिएको सूचना क्याप्टेन युवराज भट्टराईले ‘लग बुक’ मा उल्लेख गरेपछि जहाज नेपाल फर्किन पाएको छैन ।
निगमका अन्तर्राष्ट्रिय उडान गर्ने दुई जहाजमध्ये एउटा बोइङ सिचेकका लागि इजरायलमा छ । त्यसैले निगमले एउटै जहाजबाट उडान गर्नुपर्दा दिल्लीको पाँच, क्वाललम्पुर दुई, दोहा, दुबई, हङकङ र बैंककको एक/एक उडान कटौती गरिएको थियो । दुई जहाज हुँदा निगमले ६ गन्तव्यमा साताको २२ उडान गथ्र्यो ।
‘एउटा जहाज नहुँदा पहिल्यै दैनिक लाखौं घाटा भइरहेको थियो,’ स्रोतले भन्यो, ‘अर्कोमा मुसाको समस्या आइलाग्यो ।’ यसअघि २००७ मा गौतमदास श्रेष्ठ अध्यक्ष हुँदा निगमले लामो समय अन्तर्राष्ट्रिय उडान गर्न पाएको थिएन । त्यतिबेला एउटा जहाज ब्रुनईमा सिचेकका लागि पठाइएको र एउटा इन्जिन बिगि्रएकाले उडान गर्न सकेको थिएन ।
निगम प्रवक्ता राजु केसीका अनुसार बुधबार साँझ हङकङमा विमानको मर्मत सम्भार गर्ने कम्पनी इन्जिनियरिङ कर्पोरेसन हङकङ एयर (हेको) ले खोजीसम्बन्धी सबै उपाय अपनाई विमानको सम्पूर्ण भाग निरीक्षण गर्दा पनि मुसा भेटिएन । हेको ‘अब विमानमा मुसा छैन’ भन्ने निष्कर्षमा पुगेको छ । ‘बिहीबार जहाज फर्किन्छ,’ केसीले भने । निगमको इतिहासमा विमानमा मुसा पसेर उडान स्थगित गर्नुपरेको यो पहिलो घटना हो ।



