




काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति नभए रूसमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पको यस्तो चेतावनी आएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाँडै निर्णय गर्नेछु । यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै । वा हामी यो पनि भन्न सक्छौं कि यो अमेरिकाको लडाइँ होइन ।’

उनले युक्रेनको एक अमेरिकी कारखानामा हालै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरे । यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कामदारहरू घाइते भएका थिए ।
‘म यसमा खुसी छैन, न त युद्धको बारेमा केही पनि,’ ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘रूस-युक्रेन युद्धमा जे भइरहेको छ, त्यसबाट म खुसी छैन । अर्को दुई हप्ताले यसले कुन दिशा लिनेछ भनेर देखाउनेछ ।’
ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि उनले बताएका थिए । उनले भने, ‘म चाहन्छु कि दुवै नेताहरू सँगै बसून् । यदि उनीहरूले त्यसो गरेनन् भने, यो किन भयो भनेर हेर्छु ।’

उनले आफ्नो कार्यकालमा सातवटा युद्ध रोकेको र तीनवटा सम्भावित युद्धलाई टारेको दाबीसमेत गरे।
यसअघि अगस्ट १८ मा राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउसको भ्रमण गरेका थिए । जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन-जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताएका थिए ।



