




काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ ।
भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।

गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ ।


यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र पाँच करोड ४८ लाखको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ ।
युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोदै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ ।
थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।

अजेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्टे«लियासँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको व्यहोर्नुपरेको छ ।
यस्तै, बंगलादेशसँग ५३ करोड ५८ लाख बराबरको आयात र सात करोड ५१ लाखको निर्यात गर्दा ४६ करोड ७ लाख बराबर व्यापार घाटा भएको छ ।
नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ । बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शुन्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउछ । यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोडबराबर व्यापार घाटा भएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
नोट–यो समाचार सामग्री भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा आधारित भएर हामीले बनाएका हौं ।



