स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति बहाली र संविधान निर्माणमा ग्यारेन्टी नभएकाले राजनीतिक दल, मन्त्री र सभासद्प्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। उनले राजनीतिक दलहरुको कुकर्मले सबैप्रति जनताको घृणा बढ्दै गएको विचार पनि व्यक्त गरे।
मन्त्री रायमाझीले बुधबार पोखरामा एक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै शङ्का, आक्रोश र घृणाका बीच प्रधान मन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारले भने जनतामा केही आशा जगाएको बताए।
शान्ति प्रक्रियाको टुङ्गो र नयाँ संविधान निर्माण हुन सकेमा मुलुकमा राजनीतिक स्थिरता कायम हुने र विकास निर्माणका कामले पनि तीव्रता पाउने बताउँदै मन्त्री रायमाझीले अढाई महिनाभित्र शान्ति र संविधानको पहिलो मस्यौदा तयार गर्न नसके मुलुक भयावह अराजक साम्प्रदायिक द्वन्द्वमा फस्ने चेतावनी दिए।
दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका स्थानीय विकास अधिकारी, इन्जिनियर, सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता छ।
– रासस