




काठमाडौँ । सोमबार राजधानी सहित देशका विभिन्न स्थानमा राज्यले हिंसा मच्चाएपछि जेन जी पुस्ताको आन्दोलनले नयाँ मोड लिएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको आन्दोलनले सरकार तथा प्रदेश सरकारका सम्पूर्ण मन्त्रीहरूको राजीनामा, गोली चलाउन आदेश दिनेहरूमाथि कठोर कारबाही र युवा नेतृत्वको अन्तरिम सरकारको माग अघि सारेको हो ।


आन्दोलनको संयोजन गरिरहेको ‘हामी नेपाली’ समूहले घोषणा गर्दै भनेको छ, “यो अब केवल भ्रष्टाचारको विषयमा मात्र होइन, ८ सेप्टेम्बर २०२५ मा गुमेका निर्दोष ज्यानको जवाफदेहीता माग गर्ने विषय हो । आफ्ना नागरिकलाई जोगाउन असफल भएको सरकारले यो देशलाई शासन गर्ने कुनै अधिकार राख्दैन ।”

यससँगै जेन जी पुस्ताको आन्दोलनको एजेन्डा फेरिएको छ । अब यो केवल भ्रष्टाचारविरुद्धको मात्र नभई राष्ट्रकै लडाइँ भएको उद्घोष समेत गरिएको छ ।
“हाम्रो मागहरू स्पष्ट छन् र यसमा कुनै सम्झौता हुने छैन,” ‘हामी नेपाली’मार्फत सार्वजनिक घोषणामा भनिएको छ, “पहिलो, यस सरकारको तुरुन्तै राजीनामा । दोस्रो, सबै प्रदेशका सबै मन्त्रीहरूको राजीनामा, तेस्रो, हाम्रा निर्दोष दाजुभाइ दिदीबहिनीमाथि गोली चलाउने आदेश दिनेहरूमाथि तत्काल कठोर कानुनी कारबाही, चौथो, युवाले नेतृत्व गर्ने, न्यायपूर्ण र जवाफदेही भविष्यको दृष्टिकोण बोकेको अन्तरिम सरकारको गठन ।”
काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) लाई जेन जी पुस्ता लगायतले आन्दोलनको नेतृत्व लिन सामाजिक सञ्जालमा अभियान नै चलाइरहेका छन् । तर हामी नेपालीको घोषणामा भनिएको छ, “जब त्यो क्षण आउनेछ, हामी बालेनलाई हाम्रो नेता बन्न आह्वान गर्नेछौँ ।”
यो केवल माग मात्र नभई एउटा पुस्ताको आवाज भएको उल्लेख गर्दै यसलाई कुनै पनि हालतमा दबाउने दुस्साहस नगर्न चेतावनी समेत दिइएको छ ।



