बजारको माग अनुसार खसीबोकाको आयात हुन नसक्दा दसैंमा खसीबोकाको मूल्य बढ्ने

बजारको माग अनुसार खसीबोकाको आयात हुन नसक्दा यस वर्षको दसैंमा मासुको मूल्य बढ्ने भएको छ ।


व्यवसायीहरूका अनुसार भारतीय र आंशिक रूपमा चिनियाँ बजारसँग निर्भर नेपाली मासु बजारमा यो वर्ष पर्याप्त खसीबोका तथा च्याङ्ग्रा भित्रिएका छैनन् । यसले नजिकिँदै दसैंमा उपभोक्ताले थप भार व्यहोनुपर्ने भएको छ । दसैं आउन एक सातामात्रै बाँकी छँदा काठमाडौँमा खसीको मासुको मूल्य वृद्धि भइसकेको छ । आजको कारोबार दैनिकमा छापिएको समाचारमा लेखिएको छ, व्यवसायीहरुका अनुसार गत वर्षको तुलनामा ज्युँदो खसीबोकाको मूल्य १२ प्रतिशतले बढेको छ ।


दसैंसम्ममा अरु मूल्य बढ्नसक्ने उनीहरुको भनाइ छ । चौपाया खरिद-बिक्री सेवा संघका अनुसार गत वर्ष दसैंमा ज्युँदो खसीको मूल्य प्रतिकिलो २ सय ५० देखि २ सय ८० रुपैयाँसम्म कारोबार भएकोमा यसवर्ष ३ सय देखि ३ सय १५ रुपैयाँसम्म पुगेको छ ।


राजधानीमा भित्रिने खसीबोकामध्ये भारतबाट ८० प्रतिशत र स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतमात्रै रहेको संघले बताएको छ । नेपाल खाद्य संस्थानले यसवर्ष बजारमूल्य नियन्त्रणका लागि २ हजार ५ सय खसीबोका ल्याउने तयारी गरिरहेको छ । तर,संस्थानले अहिलेसम्म खसीबोकाको मुल्य सार्वजनिक गरेको छैन ।