आज देखी हिन्दूहरुको महान चाड दशै शुरु, घरघरमा घटस्थापना राखी मनाईदै




हिन्दूहरुको महान  चाड बडादसैं आज देखी  सुरु हुँदैछ। घटस्थापनाका लागि आज  बिहान १०:२७ बजेको शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। बडादसैँको पहिलो दिन बुधबार बिहान आआफ्ना घरको पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो, कलशDasain Ghar र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर दुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिँदैछ। आज  बिहान १० :२७ बजे बिहान घटस्थापना शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष माधव भट्टराईले जानकारी दिएका छन । आज  घटस्थापना गरेर सुरु हुने दसैँ १५ दिनसम्म हर्सोल्लास साथ मनाइन्छ।



विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ। जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आआफ्ना घरआँगन लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ।



असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा बुधबारदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी, दशमहाविद्या र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ।


Growing 'jamara' all over, even on one's head!



बडा दसैँको सातौँ दिन मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन स्थापना गरिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजाआराधना गरिने प्रचलन छ।



चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ।



परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ।



विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर फर्कनेक्रम सुरु भइसकेको छ। घर जान र घर फर्कनाका लागि राजधानीमा मानिसको आउने र त्यहाँबाट बाहिर जानेक्रम बढिरहेको छ।



बडादसैँका अवसरमा बुधबारदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूर्णिमासम्मका लागि बिदा गरिएका छन्। रासस