रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको अभिव्यक्ति र ४ बुँदे समझदारीको विरोधमा सत्तारुढ माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहद्धारा मसाल जुलुस

काठमाडौं  – सत्तारुढ माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको अभिव्यक्तिको विरोधमा शुक्रबार साँझ राजधानीसहित केही जिल्लामा मसाल जुलुस निकालेको छ ।

वैद्य समूहका जनवर्गीय संगठनले राजधानीको रत्नपार्क, लगनखेल र भक्तपुरमा साँझ मसाल जुलुस निकालेको हो । पोलिट्ब्युरो सदस्य नारायण शर्माले रक्षामन्त्रीको ‘राष्ट्रघाती’ अभिव्यक्ति र चार बुँदे सम्झौता खारेज नभएसम्म मसाल जुलुसहितका विरोध प्रदर्शन जारी राख्ने बताए ।

यसअघिको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक नबसेम्म अन्तरसंघर्षलाई सार्वजनिकरुपमा प्रस्तुत नगर्ने निर्णय गरेको थियो । तर वैद्य समूहले रक्षामन्त्रीको अभिव्यक्तिविरुद्ध दुई दिनदेखि राजधानीसहित देशभर प्रदर्शन गरिरहेका छन् । राजधानी बाहिर भएका कतिपय जिल्लाका विरोधमा एमाले, कांग्रेसलगायतका दलले पनि वैद्य समूहलाई सघाएका छन् ।

मन्त्री भण्डारीले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मधेसीलाई विभेद गरिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका थिए । ‘मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानूनले मुलुकलाई बचाउँछ ?,’ उनले भनेका थिए ।

दाहालको गृहजिल्लामा पनि

 वैद्य समूहले शुक्रबार साँझ चितवनमा पनि मसाल जुलुस निकालेको छ ।

नारायणगढको पुल्चोकवाट निकालेको जुलुशमा सहभागिहरुले आफनै दल र मधेसवादी दलहरु बिच भएको ४ बुँदे समझदारीको बिरोध गरेका छन् ।

पुल्चोकवाट निस्केको राँके जुलुश लायन्सचोकसम्म पुगेको थियो । उनिहरुले आफनै दलको सरकार र मधेसवादीदलहरु बिचको समझदारीले नेपालमा सिक्कीमिकरणको खतरा रहेको औल्याउदै त्यसको खारेजिको माग गरेका छन् ।

जुलुसमा सहभागिहरुले रक्षा मन्त्री शरदसिंह भण्डारीले दिएको अभिब्यक्तिको कडा बिरोध जनाउदै उनलाई मन्त्रीवाट बर्खास्त गर्नुपर्नेमाग अघि सारेका छन् । रांके जुलुशमा बैद्य निकटका

जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जुलुसमा करिब दुई सय जना थिए । 

माओवादी अध्यक्ष दाहालको गृहजिल्ला चितवनमा बैद्य समुहको बर्चश्व छ ।

दाहाल-वैद्य भेट

माओवादी अन्तर्संघर्ष चर्किरहेकाबेला अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार उपाध्यक्ष मोहन वैद्यसँग भेट गरेका छन् । शुक्रबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएपछि दुई नेताबीच वैद्य निवास गोंगबुमा भएको भेटमा पार्टीभित्र देखिएको विवाद मिलाउने विषयमा छलफल भएको बताइएको छ ।