नागरिक हत्या गरेको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजायँ सुनाइएका माओवादी सभासदको मुद्दा फिर्ता लिने प्रक्रियामा भट्टराई सरकार

सरकारले द्वन्द्वकालमा नागरिक हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ताका लागि प्रक्रिया अगाडि बढाउन छलफल थालेको छ ।

 

आज बसेको मन्त्रिपरिषद बैठकमा ढुंगेलको सजायँ माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्बन्धमा छलफल भएको तर निर्णय हुन बाँकी रहेको मन्त्रिपरिषदमा सहभागी एक मन्त्रीले जनाएका छन् । सजायँ माफीका लागि गृह मन्त्रालयको सिफारिसमा क्याबिनेटबाट निर्णय हुनुपर्ने भएकाले ढुंगेललाई माफी दिनेसम्बन्धि प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रीलाई भन्नुभएको छ ।

 

यद्यपि, उहाँहरु दुई जनाबीच थप छलफल गरेर प्रस्ताव अघि बढाइने स्रोतले जनाएको छ ।

 

सर्वोच्चले गरेको कैद सजायँको संविधानको संरक्षकका हैसियतले सरकारको सिफारिसमा राष्ट्रपतिले फिर्ता लिनसक्ने कानुनी प्रावधान छ ।

 

सर्वोच्चले फैसला गर्दा पनि दोषी ढुंगेलमाथि कार्वाही नगरेकामा आलोचना भैरहेका बेला उल्टै सरकारले मुद्दा फिर्ताका लागि प्रक्रिया थालेर दण्डहीनतालाई मलजल गर्न लागेको हो ।