काठमाडौँ – स्वास्थ तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पत्रकारहरुलाई दसैंको शुभकामना कार्डसँगै नगद वितरण गरेका छन् ।
यसैबीच स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पत्रकारहरुलाई दशैँको शुभकामना कार्डसँगै नगद वितरण गर्ने कार्यलाई ‘सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र सञ्चारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्न’ भन्दै आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ। सचिव जगत नेपालद्वारा जारी विज्ञप्तिमा पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन सबै सदस्यको ध्यानाकर्षण पनि गरेका छन्।
मन्त्री राजेन्द्र महतोले आफूनिकट, स्वास्थ्य बीट हेर्नेसहितका पत्रकारलाई ‘जरुरी काम छ, मन्त्रीज्यूलाई भेट्नु पर्यो’ भन्दै सहयोगीलाई पटकपटक टेलिफोन गर्न लगाइ पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित ३ हजारदेखि ८ हजार रुपैयाँसम्म नगद वितरण गरेका छन् ।
स्रोतका अनुसार आफूलाई सहयोग गरेको भन्दै मन्त्री महतोले केही पत्रकारको सूचि आफैं तयार गर्छन् । उनले आफ्ना पार्टीका केही शीर्ष नेताहरुमार्फत टिपाएका पत्रकारकोसमेत सूचि तयार गरेर सहयोगीमार्फत हरेक वर्ष (मन्त्री हुँदा पनि नहुँदा पनि) पत्रकारलाई बाँड्दै आएका छन् ।
वक्तव्यको पूर्ण विवरण-
स्वास्थ्य मन्त्री राजेन्द्र महतोले असोज १४ गते पत्रकारहरुलाई दशैंको शुभकामना कार्डसँगै नगद वितरण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। आफ्ना स्वकीय सचिवमार्फत् मन्त्री महतोले पत्रकारहरुलाई जरुरी काम छ मन्त्रीज्यूलाई भेट्नु पर्यो भन्दै पटक-पटक टेलिफोन गरेर पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित रु ५००० देखि रु ८००० सम्म नगद वितरण गरेको विवरण महासंघलाई प्राप्त भएको छ । स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्षत: उल्लंघन पनि हो । यसैगरी सो कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम पनि हो । यो कार्यलाई महासंघले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र साचारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । यसतर्फ आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ । साथै महासंघ पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्ना सबै सदस्यको ध्यानाकर्षण गराउँदछ।
जगत नेपाल
सचिव
नेपाल पत्रकार महासंघ
दसैंमा विशेष व्यवस्था
यसैबीच पत्रकार महासंघले दसैं विदाको अवधिमा सञ्चारमाध्यम र पत्रकारमाथि हुनसक्ने आक्रमण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि र काम-कारवाहीको सम्भावनालाई ध्यानमा राखेर विशेष व्यवस्था गरेको जनाएको छ ।
यस अवधिमा हमला वा हस्तक्षेप भएमा केन्द्रीय सचिवालय संयोजक सतीशजंग शाही (९८५१०७५३५५) र कार्यालय सहायक ख्यामप्रसाद चापागाईं (९८४१५९४८२४) लाई विवरण उपलब्ध गराउन महासंघले अनुरोध गरेको छ ।