फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुडिँखेलमा विशेष कार्यक्रमको आयोजना गरी फुलपाती बढाँई

 फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुडिँखेलमा विशेष कार्यक्रमको आयोजना गरी फुलपाती बढाँई गर्‍यो । समारोहमा राष्ट्रपति डक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, प्रधानन्यायाधीश खिलराज रेग्मी लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।


कार्यक्रममा नेपाली सेनाले राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति डा। यादवलाई सलामी अर्पण गरेको थियो । त्यस्तै नेपाली सेनाले निसान कवाज पनि प्रदर्शन गरेको थियो । नेपाली सेनाको राजदल गणले राइफल र ५ वटा तोपबाट बढाँई गरेको थियो । बढाइँ शुरु हुनु अघि सेनाको बढाई टोलीले टुडिखेलमा मार्चपास गरेको थियो ।
 
राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराई सैनिक मञ्च टुडिखेल जाँदा र फर्किदा ४५ मिनेट राजधानीका सडकमा सवारी आवागमन अबरुद्ध पारिएको थियो । दशैँको चटारोमा गन्तब्यस्थानमा पुग्न हतारिएका सर्वसाधारणले पैतालिस मिनेटसम्म आफु चढेको सवारी साधन रोकेर सवारीको प्रतीक्षा गर्नु परेको थियो । लैनचौरदेखि केशरमहलतर्फको पेटीमा समेत सर्वसाधारणलाई हिडडुल गर्न दिइएको थिएन । महाराजगंज, लैनचौर, दरबारमार्ग, रत्नपार्कलगायतका स्थानमा सयौ सवारी साधनमा हजारौ यात्रुलाई प्रहरीले रोकेर सवारीको प्रतीक्षा गर्न निर्देशन दिएका थिए । दशैँको चटारोले हतारिएका सर्वसाधारणले लोकतन्त्रमा पनि शाह राजाहरुको जस्तै व्यवहार सहनु परेकोमा गुनासो गरेका थिए ।