वादी समुदायलाई राहत स्वरुप प्रतिपरिवार १०/१० हजार रुपैयाँ दसैं राहत

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले बझाङ चैनपुरमा बस्ने वादी समुदायलाई राहत स्वरुप प्रतिपरिवार १०/१० हजार रुपैयाँ राहत दिन मुख्य सचिव माधवप्रसाद घिमिरेलाई निर्देशन दिएका छन् ।

एक दैनिक पत्रिकामा खर्च अभावमा वादी समूदायमा दसैं नआएको समाचार प्रकाशित  भएपछि प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट चैनपुरमा बस्ने २२ वादी परिवारलाई १०/१० हजार रुपैया राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

समाचारमा वादी परिवारको विचल्ली भएको उल्लेख गरिएको छ । त्यहाँका वादी परिवारले दिनभर घरघरमा गाउने र मागेर खानु परेको समाचारमा लेखिएको थियो ।

प्रधानमन्त्री भट्टराईले तत्कालका लागि २२ परिवारलाई राहत उपलब्ध गराइए पनि अव यस्ता समस्यालाई दीर्घकालिन नीति बनाएर समाधान गर्ने बताएका छन् ।