




भूमिकास्थान नगरपालिकामा चाडपर्व लक्षित बजार अनुगमन सुरुः पहिलो दिन ढाकावाङ्गका पसल निरिक्षण

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
असौज–१०,अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नजिकिएका चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै भूमिकास्थान नगरपालिकाको आयोजना र जिल्ला प्रशासन अर्घाखाँचीको समन्वयमा बजार अनुगमन सुरु गरिएको हो ।

अनुगमनको क्रममा बिहिबार म्याद गुज्रेका करिब ५ हजार बराबरको अखाद्य तथा श्रृङ्गारका सामग्री जफत गरि नष्ट गरिएको अनुगमन टोलीका निरिक्षण अधिकृत शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

मापदण्ड बिपरित पसल संचालन गरेको, मूल्य सूचि, साइनबोर्ड नराखेको, दर्ता तथा नविरकण नगरेका पसललेहरुलाई १५ देखि ३५ दिनभित्रमा सम्बन्धित वडा र पालिकामा गएर पसल दर्ता, नविकरण र मापदण्ड बमोजिम कागजात मिलान गर्न निर्देशन गरिएको भूमिकास्थान बजार अनुगमन टोलीका निरिक्षण अधिकृत अधिकारीको भनाई छ । बिहिबार जम्मा २० वटा पसलमा अनुगमन गरिएको टोलीले बताएको छ ।

म्याद गुज्रिएका र मापदण्ड बिपरित पसल संचालन गरिरहेकाहरुबाट अखाद्य सामान जफत गरि ती पसललाई आगामी दिनमा त्यस्तो गैर कानुनी काम नदोहो¥याउन पनि चेतावनी दिइएको छ । यदि अर्को पटकको अनुगमनमा पनि यस्तो गल्ती भेटिए जरिवाना सहित अन्य कानुनी कारबाही गर्ने चेतावनी टोलीले दिएको छ । मूल्यसुचि नटाँसेको, मापदण्ड अनुसारका नाप तौलका ढक तराजु नभएको, अन्य आवश्यक व्यवस्थापन र सरसफाइजस्ता विषयहरू पनि अनुगमनको क्रममा टोलीले हेर्ने गरेको छ ।

चाडबाडका बेला उपभोक्ता ठगिनबाट बँचाउन तथा कालोबजारी रोक्न अनुगमन कार्यलाई निरन्तरता दिइएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।

चाडपर्वका बेला हुने भीडभाडको मौका छोपेर ठगी धन्दा र कालोबजारी चल्न सक्ने कुरालाई मध्यनजर गरि अनुगमन नियमित गर्न थालिएको टोलीका सदस्य जगतप्रसाद भुसालले बताउनुभएको छ ।

शंकर अधिकारी नेतृत्वको पालिका स्तरिय अनुगमन समितिको टोलीले भूमिकास्थान १ र २ मा अवस्थित पिपलनेटा बजार सहित, मुलटंकी, पिपलारुख, पोखराखर्क, नाँच्नेचौर, झाँक्रिसाल लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ ।

अनुगमन टोलीमा निरिक्षण अधिकृत अधिकारी सहित जिल्ला प्रशासन अर्घाखाँचीका प्रतिनिधि कृष्णप्रसाद ज्ञवाली, भूमिकास्थान नगरपालिकाका राजश्व शाखा प्रमुख जगत

प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, ढाकावाङ्ग प्रहरीचौकी प्रमुख पुनाराम गिरी, वडा सचिव बादल कुशहवा, भूमिकास्थानको उद्यम विकास सहजकर्ता मिना वि.क. र प्रहरी जवान मोहन जि.सी. को सहभागीता रहेको थियो ।



