अब अन्तिम मौकाः दाहाल


– बिरेन्द्र के.सी


अर्घाखाँची, आश्विन २५ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई महिनाभित्र शान्ति प्रक्रिया टुंगिने र संविधानका खाका बाहिर ल्याउने दाबी गरेका छन् ।

माओवादी अर्घाखाँचीले अर्घाको मसुरपाटामा बुधवार गरेको जनसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘दुई महिना भित्र शान्ति प्रक्रियाका सबै काम पुरा भएरै छाड्छ, नेपाली जनता ढुक्क भए हुन्छ यसपालि काम पुरा हुन्छन् ।’


दाहालले शान्ति प्रक्रिया र संविधान सभा माओवादीका निम्ति आफूलाई जन्म दिएको आमाजस्तै भएकाले माओवादी नेतृत्वको सरकारले नै पुरा गर्ने बताए । भने, ‘बाबुरामसित कुरा भएको छ दुई महिना भित्र शान्ति प्रक्रिया जसरी पनि टुगाएरै छाड्छौं ।’ कांग्रेस र एमाले पनि संविधान निर्माणको पक्षमा नै भएको दाबी गर्दै उनले भने, ‘यो अन्तिम मौकालाई छाडियो भने ठुलो भुल हुने छ ।’


शान्ति प्रक्रिया र संविधानसँग माओवादीले १३ हजार सहिदको रगत साटेर ल्याएको उल्लेख गर्दै दाहालले भने, ‘जन्मिएको शिशुलाई बीचमै छाड्यौं भने दुध खाने बच्चाको घाँटी च्यापेर मारे सरह हुन्छ त्यसले यो अन्तिम अवसरमा काम पुरा गरेरै छाड्छौं ।’