फुटको संघारमा पुगेको भनिएको माओवादीमा प्रचण्ड पक्ष तथा मोहन वैद्य पक्ष दुवैले डाकेको छुट्टाछुट्टै कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित

फुटको संघारमा पुगेको भनिएको एकीकृत नेकपा माओवादीभित्रको संकट तत्कालको लागि टरेको देखिएको छ।


पार्टीका शीर्ष नेताहरुको बैठक पार्टी अध्यक्ष प्रचण्ड पक्ष तथा उपाध्यक्ष मोहन वैद्य पक्ष दुवैले डाकेको छुट्टाछुट्टै कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गर्न राजी भएपछि एकीकृत नेकपा माओवादीभित्र चर्किएको विवाद तत्कालको लागि टरेको छ।


तर शान्ति प्रक्रिया तथा सेना समायोजनका विषयमा दुवै पक्षका परस्पर विरोधी अडानहरु यथावत रहेकाले उनीहरुको घरझगडा कुनैपनि समय पुन: बल्झिन सक्ने नेताहरुले स्वीकारेका छन्।


असोज २९ गतेको लागि अध्यक्ष प्रचण्ड पक्षले डाकेको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमले फुटको बीउ रोप्ने सम्मका अभिव्यक्ति दिएका उपाध्यक्ष वैद्य पक्षधरहरुले त्यसको साटो छुट्टै प्रशिक्षणको आव्हान गरेका थिए।


तर बुधबार बसेको माओवादी पदाधिकारीहरुको बैठकमा दुवै पक्षले प्रशिक्षण रद्द गर्ने निर्णय गरे।


बरु कार्तिक १७ गते केन्द्रिय समितिको बैठक डाकेर विवादित मुद्दा छिनोफानो गर्न उनीहरु सहमत भएका थिए।