हत्या प्रकरणमा मुछिएका भूमिसुधार मन्त्री प्रभु साह र तराइका २२ जिल्लाले छुट्टै राज्य घोषणा गर्न सक्ने विवादास्पद अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनाको माग राखेर काँग्रेस र एमालेले आज संसद बैठकमा अवरोध गरेका छन् । काँग्रेस र एमालेका सांसदहरुले मन्त्रीद्धयको राजीनामा माग्दै विरोध गरेपछि असोज २९ गते सम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुखले बैठक नियमित कार्यसूचीमा प्रवेश गराउन लाग्दा काँग्रेस र एमाले सभासद्हरुले विरोध जनाएका हुन् । सांसदहरुको विरोधपछि असोज २९ गते सम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।
यसअघि बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले अरुलाई कानूनको पालना गराउनुपर्ने ब्यक्ति हत्याको आरोप लाग्दा समेत पदमा बसिरहनुले सरकार नै दण्डहिनतालाई प्रश्रय दिन लागि परेको पुष्टी भएको आरोप लगाउनुभयो । तराइ मधेश कुनै दल विशेषको नभएको भन्दै उहाँले देश टुक्रिन सक्ने अभिब्यक्ति दिने रक्षामन्त्री शरत्सिंह भण्डारीले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
काँग्रेस संसदीय दलका नेता नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री डा बाबुराम भट्टराइले राष्ट्रियतामाथि आँच आउने अभिब्यक्ति दिने र अपराध गर्ने मन्त्रीलाई सिरानी हालेर बसेको अरोप लगाउनुभयो । भूमिसुधार मन्त्री प्रभु साहलाई जोगाउन खोजेर माओवादी र प्रधानमन्त्रीले दण्डहिनतालाई प्रश्रय दिएको उहाँको भनाइ थियो ।
काँग्रेस नेता डा. रामशरण महतले अपराध गरेको पुष्टी भइसक्दा पनि मन्त्री साहलाई वर्खास्त गर्न नसकेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराइको चर्को आलोचना गर्नुभयो । उहाँले रक्षा मन्त्री भण्डारीलाई देश टुक्रिन सक्ने अभिब्यक्ति दिन कसले अधिकार दियो भन्दै त्यसबारे प्रष्ट पार्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
माओवादी प्रवक्ता दिनानाथ शर्माले भने मन्त्री साह दोषी नरहेको जिकिर गर्नुभयो । काँग्रेस र एमालेले घटनालाई राजनीतिकरण गरिरहेको भन्दै उहाँले मन्त्री साह निर्दोष रहेको र अरु दोषीमाथि कारवाही हुनुपर्ने वताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले सार्वजनिक पदमा बसेका व्यक्तिहरुले आफूलाई कुनै आरोप लाग्नासाथ निष्पक्ष छानविनको लागि वातावरण बनाउननका लागि राजीनामा दिनुपर्नेमा जोड दिनुभयो । नेकपा मालेका नेता सिपी मैनालीले रक्षा मन्त्रीको अभिब्यक्ति राष्ट्रियता विरोधी भएको दाबी गर्नुभयो । सभासद्हरू मोहम्मद इस्तियाक राई, अरविन्द साह, कल्पना राणा, नवराज कोइराला लगायतले मुस्लिम संघका फैजल अहमदको हत्याका दोषीहरुलाई प्रक्राउ गरी सार्वजनिक गर्न माग गर्नुभयो ।



