माओवादीद्धारा हत्या आरोप लागेका भूमि सुधार मन्त्री प्रभु साहलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय


काठमाडौ – माओवादीले भूमि सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतवार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले तत्कालिन हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्या आरोप लागेका साहलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनी मन्त्री रहिरहँदा हत्या अभियोगको अनुसन्धान प्रभावित भएको भन्दै ब्यापक अलोचना बढेको थियो । प्रतिपक्षीहरु काँग्रेस र एमालेले रक्षा मन्त्री शरसिंह भण्डारी र साहलाई बर्खास्तगीको माग गरेर संसद अबरुद्ध पार्दै आएका छन् ।

‘पार्टीको पदाधिकारी बैठकले मन्त्री साहलाई फिर्ता बोलाउने निर्णय गरेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले  भने, ‘व्यवहारिक रुपमा उहाँ पदमुक्त भइसक्नु भएपनि केही औपचारिक प्रकृया बाँकी रहेको छ ।’

प्रधानमन्त्रीसमेत रहेको बैठकले फिर्ता बोलाउने निर्णय गरेकाले उक्त निर्णय लागु भइसकेपनि औपचारिक रुपमा पार्टीका तर्फबाट प्रधानमन्त्रीलाई मन्त्री फिर्ता बोलाइएको पत्र पठाउनु पर्नेछ ।

मन्त्री साह तिवारीको हत्याको प्रमुख योजनाकार रहेको भन्ने अर्का अभियुक्तको भनाई रहेपछि उनलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले केन्द्रीय कार्यालयलगायतमा पत्रचार गरेको थियो । तर, सरकारी वकिलले भने प्रमाण नपुगेको भन्दै उनी बिरुद्ध मुद्दा दायर गरेको छैन ।

शनिबार साँझ माओवादी र मधेसी मोर्चाका बीच भएको छलफलमा विवादस्पद अभिब्यक्ती दिने रक्षामन्त्री भण्डारी र साहलाई फिर्ता बोलाएर भएपनि संसद खोल्ने निर्णय गरेको थियो । त्यसका लागि भण्डारीको लागि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र साहका लागि माओवादीलाई नै जिम्मा लगाएको थियो ।