प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ दिल्लीमा

भारतको चारदिने भ्रमणका लागि जानु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ दिल्ली पुग्नु भएको छ । नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री भट्टराइलाई भारतीय विदेश मन्त्रालयका उच्च कर्मचारीले स्वागत गरेका थिए ।


विमानस्थलबाट मर्सिडिज बेन्ज कारमा प्रधानमन्त्री भट्टराइलाई चाणक्यपुरीस्थित होटल लीला प्यालेसततर्फ लगिएको थियो । प्रधानमन्त्री भट्टराइले आज अपरान्ह इण्डियन कन्स्टीट्युशन क्लवमा नेपाली समुदाय तथा भारतीय नागरिक समाजका प्रतिनिधिहरुसंग भेट गर्नुभएको छ । यसअघि साढे १२ बजे प्रधानमन्त्री भट्टराई काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । ३७ सदस्यीय भ्रमण दलको नेतृत्व गरी भातर प्रस्थान गर्नुअघि विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो भ्रमण सद्भावना भ्रमण मात्रै हुने र दुई देशको सम्वन्ध विस्तारमा छलफल हुने बताउनु भएको थियो ।


प्रधानमन्त्री भट्टराईलाई बिदाई गर्न सभामुख सुवास नेम्वाङ, उप्रधानमन्त्री एवं गृहमन्त्री बिजय कुमार गच्छदार अन्य मन्त्रीहरु, सरकारका उच्च अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु बिमानस्थल पुगेका थिए । सेनाको एउटा टुकुडीले उहाँलाई सलामी दिएको थियो । भ्रमण दलमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, सञ्चारमन्त्री जेपी गुप्ता र सभासद्हरु सहभागी छन् ।


भ्रमणका क्रममा नेपाल र भारतबीच उर्जा ब्यापारसहित तीनवटा सहमति पत्रमा हस्ताक्षर हुने बुझिएको छ । यस्तै काठमाडौंदेखि तराई जोड्ने द्रुत सडक निर्माणका लागि ७८ अर्ब रुपैयाँ ऋण सहयोगका लागि पनि भारत सरकारसँग आग्रह गर्ने तयारी भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।


प्रधानमन्त्री भट्टराईले भारतीय भोलि राष्ट्रपति प्रतिभादेवी पाटिल र उपराष्ट्रपति हमिद अन्सारीसंग भेट गर्ने कार्यक्रम छ भने पर्सी भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दुई औपचारिक वार्ता गर्ने कार्यक्रम छ । नयाँ दिल्लीबाट प्रधानमन्त्री भट्टराई उत्तराखण्डको देहरादूनस्थित विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमणका लागि जानु हुने छ । उहाँ आगामी आइतबार स्वदेश र्फकने कार्यक्रम छ ।