





काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल संवत नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी छन् ।
नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको बताउदै नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुनाले यो नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी हुन् ।

उनले नेपाल संवतको प्रवर्तन गर्ने महान् व्यक्तित्व शंखधर साख्वाबाट आज पनि व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दामाथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने बताएकी थिइन् ।


उनले भनिन्- ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो।यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो ।’
सो अवसरमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको उल्लेख गर्दै यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताएकी छन् । उनले यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुने भन्दै सबैलाई सहकार्य र सचेत नागरिकको भूमिका निर्वाह गर्न आव्हान समेत गरेकी छन् ।
उनले भनिन्- ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’



