परदेशमा तिहारको पीडा ,सबैको बाध्यता

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

“परदेशमा तिहारको पीडा”

– बिनोद श्रेष्ठ, पाणिनी–८, पाली, अर्घाखाँची। 

समय, परिस्थिति, बाध्यता र रहरका कारण लाखौँ नेपाली युवाहरू आज परदेशी भूमिमा आफ्नो श्रम र पसिना बगाइरहेका छन्। परदेशको जीवन सरल छैन—यहाँ हरेकको आफ्नै पीडा, बेदना, संघर्ष र एक्लोपन छ। यस्ता दिनहरूमा जब देशमा चाडपर्वको माहोल आउँछ, तब त्यो एक्लोपन झन् गहिरो र असह्य बन्छ।

भर्खरै दशैंको उल्लास समाप्त भएको छ, अब तिहार भित्रिएको छ। नेपालमा तिहारको आगमनसँगै गाउँ–सहर सजिँदैछन्, घर–घरमा सयपत्रीका फूलहरू फुलिरहेका छन्, मादलका तालहरू गुन्जिँदै छन्। तर, परदेशमा रहेका हामी नेपालीका लागि यी सबै दृश्य र धुनहरू सामाजिक सञ्जालका चित्र र भिडियोमै सीमित छन्। त्यो भीडभाड, त्यो रमाइलोपन, त्यो परिवारको साथ—यी सबैबाट टाढा भएर हामी परदेशीहरू एउटा कोठाको कुनामा बस्दा त्यो चाडको उत्सवभन्दा बढी अभावको पीडा महसुस गर्छौँ।

विशेष गरी गीत–संगीतसँग प्रेम गर्ने, नाच–गानमा रमाउनेहरूका लागि तिहारको समय झन् भावनात्मक हुन्छ। घर, परिवार, साथीसँग तिहार मनाउने चाहना मनको कुनामा पलाइरहन्छ। सामाजिक सञ्जालका माध्यमबाट हामी केही राहत त पाउँछौँ, तर त्यो पनि क्षणिक मात्र हुन्छ। बाल्यकालको त्यो रमाइलो तिहार, घरघरमा झिलिमिली बत्ती, देउसी–भैलोका स्वर—यी सबै सम्झिँदा मन अझै बालक बनेर गाउँ फर्कन खोज्छ।

नेपालमै बस्नेहरूलाई दशैं, तीज वा तिहार साधारण लाग्न सक्छ, तर वर्षौँदेखि जन्मभूमिबाट टाढा रहेका हामी परदेशीहरूका लागि हरेक कुरा विशेष लाग्छ—चाहे त्यो गाउँको शीतल चौतारीको हावा किन नहोस् वा पधेराको चिसो पानी नै किन नहोस्। परदेश साँच्चिकै पराइको देश हो, जहाँ रुनेसम्म पनि स्वतन्त्रता पाउन गाह्रो हुन्छ।

Bhai Tika being observed, 10:51am auspicious hour - Desh Sanchar

तर, बदलिँदो समय र आधुनिकताका बीच पनि आफ्नो मौलिक संस्कृति जोगाउन लागिपरेका देश–विदेशका नेपालीहरू देख्दा गर्व र खुशी लाग्छ। चाहे त्यो दशैंको सराय नाच होस्, भैरव नाच, कालिका नाच, लाखे नाच वा मौलिक देउसी–भैलो—यी परम्परागत संस्कृतिहरू बचाइराख्ने प्रयास प्रशंसनीय छन्। पछिल्ला वर्षहरूमा तिहारको समयमा मौलिक देउसी–भैलोको लोकप्रियता अझ बढ्दो क्रममा छ, जुन हाम्रो सांस्कृतिक अस्तित्वको प्रतिक हो।

परदेशमा बसेर हामीले यी चाडपर्वहरूलाई प्रत्यक्ष रूपमा मनाउन नसके पनि, ती संस्कृतिप्रतिको माया र सम्झना हाम्रो मनमा अझ गाढा हुँदै गइरहेका छन्।

यसै अवसरमा, आफ्नो घर–परिवारसँगै बसेर तिहार मनाउन पाएका भाग्यमानी सबैलाई हार्दिक शुभकामना।

जहाँ जसरी भए पनि हाँसी–खुसी, सद्भाव र संस्कृतिको संरक्षणसहित तिहार मनाऔँ।

शुभ तिहार!

 

Nepal life insurance