पुल भत्किँदा दार्जिलिङमा ३० को मृत्यु

दार्जिलिङ, ६ कात्तिक दार्जिलिङको विजोनवारीमा एउटा पुरानो पुल भत्किँदा ३० जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भएको दुर्घटनामा सयौं घाइते भएको बताइएको छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको भाषण सुन्न सयौंको संख्यामा उपस्थित मानिसहरुको भार थेग्न नसकेपछि उक्त पुल भत्किएको थियो । पुलमा २ सय भन्दा बढी मानिसहरु उभिएका थिए र उनीहरु छोटा रंगित खोलामा खसेका थिए ।  
 
घटना भएलगत्तै स्थानीय वासिन्दा तथा सैनिकहरु उद्धारमा  खटिएका थिए । निकै पुरानो र जीर्ण अवस्थामा रहेको उक्त पुललाई पछिल्लो पटक गएको भूकम्पले पनि क्षति पुर्‍याएको थियो । 
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । 
 
घटनाबारे जानकारी लिन पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी घटनास्थलको निरीक्षण गर्न पुगेकी छिन् ।