विद्युत् चोरी घटाउने लक्ष्य पूरा नहुने भयो

काठमाडौं, कात्तिक १४ विद्युत् चुहावट नियन्त्रण गर्नका लागि सरकारले अगाडि सारेको छ महिनाभित्र विद्युत् चुहावट २० प्रतिशतमा सीमित गर्ने लक्ष्य पूरा नहुने भएको छ। व्यावहारिक तथा प्राविधिक कठिनाइका कारण यो लक्ष्य पूरा हुन नसक्ने अवस्था देखिएको हो।
 ऊर्जा मन्त्रालयका सहप्रवक्ता पुरुषोत्तम आचार्यले सरकार विद्युत् चुहावट नियन्त्रणका लागि इमान्दारीपूर्वक लागेको बताउँछन्।
उनले केही प्राविधिक तथा व्यावहारिक जटिलताका कारण थोरै समस्या खडा भएको बताए। ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई छ महिनाभित्र २८ दशमलब ७३ प्रतिशतमा रहेको चुहावटलाई २० प्रतिशतमा झार्न निर्देशन दिएको थियो।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले यो विषयलाई महत्वका साथ अगाडि बढाएका थिए। वर्तमान ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले प्राविधिक र व्यावहारिक जटिलतालाई हटाएर काम गर्न निर्देशन दिएको सहप्रवक्ता आचार्यले बताए।
ुचोरी, हुकिङलगायतका समस्या हल गर्न सकिए पनि प्राविधिक चुहावट नियन्त्रण गर्नका लागि भने बृहत् अध्ययनको आवश्यकता रहन्छ त्यसकारण समस्या भएको होु, आचार्यले भने।
उनले मन्त्रालयले प्राधिकरणलाई तत्काल के कसरी चुहावट नियन्त्रण गर्न सकिन्छ, त्ससको कार्ययोजना पेश गर्न भनेको जानकारी दिए।