





काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उहाँले सबैमा आग्रह समेत गर्नुभयो ।


उहाँले विगतमा भएका कमी कमजोरीहरुको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने पनि बताउनु भयो । उहाँले विगतमा भएका कम्युनिष्ट एकतालाई स्मरण पनि गर्नुभयो । उहाँले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसको शुरुवात आजदेखि सुरु भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको एकता हाम्रो कमजोरी कहाँ भयो ? हामी कहाँ चुक्यौं ? भन्ने कुराको आत्मसमिक्षा गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले समिक्षा गरेका छौं । हामी समिक्षा गर्दै जानेछौं । त्यसकारण यो असाधारण एकता र ऐतिहासिक दिनमा हामीले यो संकल्प लिएका छौं । हामीले हाम्रै भूमि र हाम्रै विषेशतामा समाजवाद निर्माण गर्ने हो । हाम्रो एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ– समाजवादसम्बन्धी पुस्तक दिनुभएको थियो । आन्दोलनको क्रममा जल्यो अर्को किताव दिनुहोस् । अहिले समाजवादको प्रश्न गर्नुभयो । तपाई के गर्नुहुन्छ ? तपाई पनि नेता हो नि ? समाजवाद निर्माणको जिम्मा वामदेवजीलाई नै दिने सोच्दैछु ।’
उहाँले जेन–जी विद्रोहले आफूहरुलाई आत्मसमिक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरिदिएकोमा धन्यावाद समेत दिनुभयो ।



