
मंगलबार साँझ शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने सम्बन्धी सहमतिमा माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु पुगेका थिए । सहमति पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शुसील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट बिजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन् ।
सहमतिमा हस्ताक्षर गर्ने नेताहरु मध्ये माओवादी अध्यक्ष दाहाल सबै भन्दा उत्साहित देखिएका थिए । उनले २०६३ असार २ गते गिरिजाप्रसाद कोइराला र आफुबीच भएको अनौपचारिक सहमतिले सार्थकता पाएका बताए । साथै शान्ति र संविधानप्रतिको जनताको चाहनालाई यो सहमतिले साकार पार्ने दावी गरे । उनले पार्टी भित्र असहमति भएपनि सहमति कार्यन्वयन हुने बताएका थिए ।
त्यसैगरी कांग्रेस सभापति कोइरालाले सहमतिलाई ऐतिहासिक निर्णय भने । उनले गिरिजाप्रसाद कोइरालाले थालनी गरेको शान्ति प्रक्रियाले सार्थकता पाउन लागेको दावी गरे । उनले मुलुकमा अमन चयन कायम हुने दावी गरे । साथै कार्यन्वयनको विकल्पै नभएको बताए ।
एमाले अध्यक्ष खनालले पनि ऐतिहासिक सहमतिको संज्ञा दिए । उनले सहमतिले दूरगामी महत्व राख्ने बताए । उनले शान्ति र संविधानको प्रक्रिया टुंगो लगाउँदै सम्वृद्ध नेपाल बनाउने महत्वपूर्ण भूमिका सहमतिले खेल्ने उल्लेख गरे ।
सहमतिका अर्का हस्ताक्षर कर्ता मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष गच्छदारले नेपाली जनताको आशा पुरा हुने अवस्थामा आएको दावी गरे । मधेसी मोर्चाको सुझबुझपूर्ण कार्यको नतिजा स्वरुप यो सरकार बनेर सहमति भएको उल्लेख गर्दै संविधान लेखनको ढोका खोलेको बताए ।



