– राजु अधिकारी
झापा – अमेरिकी राजदूत स्कट एच डेलिसीले माओवादीलाई आतंककारी सूचीबाट हटाउने कुरा बारे अमेरिकाले ‘अझै विचार गर्ने’ बताएका छन्। सशस्त्र युद्धको पृष्ठभूमिबाट आएको पार्टीभित्र त्यही बेलाका युद्धजन्य अवशेषहरु बाँकी नै रहेको भन्दै राजदुत डेलिसीले अझै पनि पूरै विश्वास गर्न नसकिने धारणा व्यक्त गरेका हुन्।
‘माओवादीलाई आतंककारी सूचीबाट हटाउने कुरा अझै सोचनीय छ,’ मेची उद्योग वाणिज्य संघले धुलाबारीमा बिहीबार उनको स्वागतमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा राजदुत डेलिसीले भने ‘शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म र पहिलेको धङधङी नत्यागेसम्म त्यसमा पुर्नर्विचार गर्न गाह्रो छ।’
माओवादीसँग अझै पनि हतियार रहेको र युद्धकालका आन्तरिक संरचनाहरु जीवितै रहेकाले माओवादीप्रति शंका व्यक्त गर्न सकिने उनको भनाई थियो। नेपाली सरकारको नेतृत्व गरेको दललाई किन आतंककारी सूचीमा राखेको भन्ने पत्रकारहरुको प्रश्नमा उनले ‘सरकार र पार्टी फरक’ भएको अभिव्यक्ति दिए।
तर, पछिल्लो समयमा विकसित घटनाक्रमले केही आशावादी भने बनाएको उनले बताए। दलहरुबीच पछिल्लोपटक भएको शान्ति प्रक्रिया टुंग्याउने सहमतिको प्रशंसा गर्दै उनले यसको इमान्दार कार्यान्वयनमा नेपालको भविष्य निर्भर हुने उल्लेख गरे।