आज हरिबोधिनी अर्थात् ठूलो एकादशी

काठमाडौं, २० कात्तिक आज हरिबोधिनी अर्थात् ठूलो एकादशी । हरिबोधनी
एकादशीका अवसरमा आज मुलुकभर विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला
लाग्नुका साथै दर्शनार्थीको घुइँचो लागेको छ ।

 

ठूलो एकादशीको दिन आज गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह
गर्दछन् । तसर्थ आजका दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ ।

तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा
फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् ।
तुलसीको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ ।
तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ । यो
एकादशीका दिन विशेषगरी हिन्दु संस्कृति अनुसार तुलसीको विवाह सम्पन्न गरी
व्रतालुले फलारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने भएकाले बजार तथा
मेला लागेको स्थानमा यस बेला यसको बढि बिक्री भैरहेको छ ।

 

हिन्दुधर्ममा कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशी व्रत बस्नाले पापको नास,
पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध
तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । जुन घरमा
तुलसीको मठ हुन्छ त्यो घर तीर्थ समान हो, त्यस घरमा यमदूतको प्रवेश हुँदैन,
एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल
प्राप्त हुने गरुड पुराणमा उल्लेख भएको पाइन्छ ।