मन्त्रिपरिषद् विस्तार सात बुँदे सहमतिको भावना विपरीत: कांग्रेस

काठमाडौ – कांग्रेस सभापति सुशील कोइरालाले सात बुँदे सहमतिको भावना विपरीत प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको बताएका छन् । उनले राष्ट्रिय सहमतिको सरकार गठानका लागि दलहरुबीच सहमति भइसकेको अवस्थामा आश्चर्य जनक ढंगल मन्त्रिपरिषद् विस्तार गरिनुले समस्या समाधानमा सघाउ नपुग्ने बताए ।

 

महाराजगंजस्थित आफ्नै निवासमा बिहीबार संचारकर्मीसंग कुरा गर्दै कोइरालाले भने-‘प्रमुख दलबीच राष्ट्रिय सरकार गठन गर्ने सहमति भएकाबेला प्रधानमन्त्री वर्तमान सरकारलाई टिकाउने प्रयासमा देखिन्छन् ।’ उनले अब कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने दावी गरे । ‘संविधानसभा निर्वाचन पछि माओवादी र एमालेले दुई-दुई पटक सरकार चलाइसक्यो अब हाम्रो दावी स्वभाविक छ,’उनको कथन थियो ।

सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाउँदै उनले यसप्रति राष्ट्रपतिले गम्भीरताका साथ बिचार गर्नुपर्ने बताए । उनले यस्तो निर्णय लिएर सरकारले कानुनको उपहास गरेको आरोप लगाए ।

अर्को प्रसंगमा कोइराललो कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने सहमति जनाएका बेला उल्टै कब्जा गरेकोमा माओवादीको इमानदारितामाथि प्रश्न अठेको बताए ।