सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने निर्णयको विरोधमा सर्वोच्चमा रिट

काठमाडौं – उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने निर्णयको विरोधमा बिहीबार सर्वोच्च अदालतमा रिट परेको छ ।

श्रेष्ठकी दिदी सावित्रीले आममाफी दिने बाबुराम भट्टराई सरकारले गरेको सिफारिसविरुद्ध रिट दायर गरेकी हुन् । उनले रिटमा सिफारिस कार्यान्वयन नगराउन माग गरेकी छन् ।

रिटमा प्रधानमन्त्री भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

दुई दिनअघि बसको मन्त्रिपरिषद् बैठकले सभासद् ढुङ्गेललाई आममाफी दिन राष्ट्रपति रामवरण यादवलाई सिफारिस गरेको थियो । त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।