सम्पत्ति शुद्धीकरण निवारण रणनीति तथा कार्ययोजना सार्वजनिक

सम्पत्ति शुद्धीकरण निवारण रणनीति तथा कार्ययोजना सार्वजनिकअर्थमन्त्रालयले सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ । अर्थमन्त्री बर्षमान पुनले सोमबार पाँच बर्षे रणनीति तथा कार्ययोजना सार्वजनिक गर्नुभएको हो । सो अवसरमा मन्त्री पुनले सरकार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न प्रतिवद्ध रहेको बताउनुभयो । रणनीति कार्यान्वयनका लागि सरकारले आवश्यक बजेट र अन्य सहयोगमा कुनै कमी हुन नदिने उहाँले उल्लेख गर्नुभयो ।

अर्थसचिव एवं समन्वय समितिका संयोजक कृष्णहरी बाँस्कोटाले नेपालले सम्मत्ति शुद्धीकरण निवारण सम्बन्धी हरसंभव प्रयास गर्दै आएको बताउनुभयो । नेपालले फाइनान्सिएल एक्सन टास्क फोर्स का ४९ वटा मापदण्ड पालना गर्न प्रतिवद्धता जनाइसकेको र यस सम्बन्धी हालसम्म भएका कार्यहरुबारे जानकारी गराउनुभयो । मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोगमा रणनीति तयार पारेको हो । संसदको अवरोधका कारण यस सम्बन्धी अझै ३ वटा कानून बन्न सकेका छैनन् । आपसी कानूनी सहयोग विधेयक, सुपुर्दगी सम्बन्धी ऐन र संगठित अपराध सम्बन्धी ऐन अझै रोकिएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडाले अन्तर्राष्ट्रिय जगत संगै कारोबार बढ्दै जाँदा भोली समस्या आउन सक्ने भएकाले नेपालले अहिले देखि नै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै जानुको विकल्प नभएको दोहोर्याउनुभयो । अन्तर्राष्ट्रिय जगतसंग आर्थिक सम्बन्ध राख्न आर्थिक सुशासन बढाउनै पर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यनीतिको सफल कार्यान्वयनले ५ बर्षमा नेपाललाई एउटा स्वच्छ, पारदर्शी वित्तीय कारोबार गर्ने मुलुकका रुपमा स्थापित गर्ने उहाँको विश्वास छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष मिसन टोलीका प्रमुख जोसेफ मायर्सले यससम्बन्धी हालसम्मको क्रियाकलापले सरकार सही दिशामा नै अगाडी बढेको देखिएको टिप्पणी गर्नुभएको थियो । यसै बर्ष गठन गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक खुमराज पुँजालीले यस सम्बन्धी परेका ३ सय शंकास्पद उजुरीमध्ये ४ वटा टुंगिएको, ३ वटाको अदालमा मुद्धा चलिरहेको र १ सय ३२ वटाको छानबिन भैरहेको जानकारी गराउनुभयो ।