मेरो पालामा ढुंगेललाई माफीको तयारी भएको थिएनः खनाल

३० कात्तिक, धनकुटा । एमाले अध्यक्ष झलनाथ खनालले आफू र माधव नेपाल प्रधानमन्त्री छँदा मन्त्रिपरिषदबाट सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने कुनै तयारी नभएको दाबी गर्नुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगेललाई आममाफी दिने प्रक्रिया पूर्ववर्ती सरकारकै पालामा अघि बढेको बताइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको त्यस्तो भनाइ बाहिर आएको हो । पार्टी कामको सिलसिलामा यहाँ आएका खनालले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगेललाई आममाफीको सिपाmरिस गरेर सरकारले कानुनी राज्यको उपहास गरेको आरोप लगाउनुभयो ।
 ढुंगेल प्रककरणलाई दण्डहीनताको चरम नमुनाको संज्ञा दिनुभएका अध्यक्ष खनालले त्यस्तो विषयमा आफ्नो नाम जोडेर घृणित काम नगर्न प्रचण्ड र प्रधानमन्त्री भट्टराईलाई चेतावनी दिनुभयो । अध्यक्ष खनाल प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराले ढुंगेलाई आममाफी दिन मन्त्रिपरिषदमा लगेको प्रस्ताव विचाराधीन थियो । अर्को एक प्रसङ्गमा अध्यक्ष खनालले शान्ति र संविधान लेखनको प्रक्रिया अगाडि बढ्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गर्नुभयो ।