भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक,१ सय ९४ तोला सुन

काठमाडौं – भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेका विवरणअनुसार नवलपरासी जिल्लाको गूठीपर्सौनीमा स्व. पिता हरिशंकर त्रिपाठीको नाममा ११ कठा जग्गामा बनेको सगोलको घर र २०५४ सालमा पत्‍नी शोभा त्रिपाठीको नाममा बैंकबाट ३४ लाख ऋण लिई ललितपुर जिल्ला सैंवुमा खरिद गरेको १३ आना जग्गामा बनेको घर एक रहेको छ।

 

मन्त्री त्रिपाठीका पिता हरिशंकर त्रिपाठीको नाममा सगोलमा नवलपरासी जिल्लाको गूठीपर्सौनीमा १९ बिघा १७ का जग्गा रहेको छ। त्यस्तै पत्‍नी शोभा त्रिपाठीको नाममा सिद्धार्थ नगरपालिका रुपन्देहीमा ७ का १३ धुर जग्गा धुम्बाराहीको घरजग्गा बिक्री गरी ५५ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ।

काठमाडौंको विष्णुगाउँ र भद्रकालीमा एक रोपनी ९ आना २०५३ सालमा १६ लाख रुपैयाँमा खरिद गरेको तथा बैंकबाट ऋण लिई ललितपुर भैंसेपाटीमा दुई रोपनी २ आना, नयाँ बसपार्क नजिक दुई रोपनी ८ आना जग्गा पत्‍नी शोभाको नाममा रहेको छ।

मन्त्री त्रिपाठीसँग केही सुनका औँठी, सुन करिब एकसय ९४ तोला र चाँदी ३२ केजी पत्‍नीको दाइजो, छोराछोरीबाट प्राप्त उपहार तथा खरिदबाट सञ्चित रहेको विवरणमा जनाइएको छ।


उनको एभरेष्ट बैंकमा तलब सुविधाबाट प्राप्त करिब ६ लाख रुपैयाँ सञ्चित रहेको छ। विवरणअनुसार पत्‍नी शोभा त्रिपाठीको नाममा बैंक अफ एसियाको ५० हजार रुपैयाँ र नेपाल दूरसञ्चार संस्थानको १८ लाख ६० हजार रुपैयाँको सेयर रहेको छ। त्यसैगरी पल्लवी त्रिपाठीको नाममा प्राइम बैंकको ३० हजार रुपैयाँको सेयर रहेको छ।


मन्त्री त्रिपाठीले जग्गा तथा गाडी खरिदका लागि प्रुडेन्सीयल इनभेष्टमेण्टबाट दुई करोड ५ लाख, सिद्धार्थ बैंकबाट एक करोड, हिमालय बैंकबाट २० लाख र कृषि विकास बैंकबाट नौ लाख सत्तरी हजार ऋण लिएको उल्लेख छ।


मन्त्री त्रिपाठीका नाममा सुविधा प्राप्त प्राडो जिप एक पत्‍नी शोभा त्रिपाठीको नाममा वैगन आर एक, छोरी पल्लवीको नाममा हाइलक्स टोयटा एक, होन्डा स्कुटी एक तथा दिनेश त्रिपाठी(दाई) को टेक्टर एक रहेको छ। रासस