प्राविधिक काम सकियो, लडाकु वर्गीकरण कतै आज कतै भोलि

काठमाडौं, २ कात्तिक  माओवादीका शिविरमा रहेका लडाकुहरुको पुनवर्गीकरणका लागि प्राविधिक काम पूरा भएको छ । प्राविधिक काम हिजै सकिएका शिविरमा आजबाट र बाँकीमा भोलिबाट पुर्नवर्गीकरणको काम सुरु हुनेछ । 
 
वर्गीकरणका लागि खटिएका सबै प्रविधिक टोली देशभरीका सात शिविरमा पुगिसकेका छन् ।  चितवन, नवलपरासी र इलाममा रहेका शिविरमा आजैबाट काम सुरु हुने भएको छ ।
तर कैलाली, सुर्खेत, रोल्पा र सिन्धुलीमा भने आवश्यक भौतिक पूर्वाधारको व्यवस्था सकेर भोलिबाट मात्रै काम सुरु हुने भएको छ । प्रमुख दलबीच भएको सातबुँदे सहमति अनुसार सेना समायोजन विशेष समितिको लडाकु शिविर पुगेर काम गर्ने निर्णय गरको थियो । टोलीलाई मंसिर ७ गतेभित्र लडाकुहरुको पुनर्वर्गीकरण सक्न निर्देशन दिइसकेको छ । टोलीले लडाकुहरुको इच्छा बुझेर समायोजन, पुनर्स्थापना वा स्वेच्छिक अवकास रोज्नेको छुट्टाछुट्टै विवरण तयार पार्नेछ ।  
 
माओवादी लडाकुको पुनर्वर्गीकरणका लागि प्राविधिक टोली शिविरमा आइपुगेपछि चितवनको तेस्रो डिभिजनका लडाकुमा खुसी छाएको छ । पुनर्वर्गीकरण प्रक्रियामा सामेल नहुन माओवादी भित्रैको वैद्य पक्षले अपिल गरे पनि तेस्रो डिभिजनमा त्यसको कुनै प्रभाव परेको छैन । त्यस्तै, नवलपरासीमा रहेको माओवादी लडाकुको चौथो डिभिजन अन्तर्गतका लडाकुको समायोजन प्रक्रियाको वर्गीकरण आज बिहानैबाट सुरु गर्न लागिएको छ ।