



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताउनुभएको छ ।
आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको समेत जिकिर गर्नुभयो ।

विगतमा भएका कमजोरीहरुप्रति आफूहरुले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाउनु भयो । यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी संयोजक दाहालको छ । अब देशमा देखिएका समस्याहरु समाधान गर्नेमा केन्द्रित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरुको नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध हुन आएका सबै नेताहरुको आत्मालोचना सभा पनि हो । तपाईंहरुको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरुप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरुका अगाडि संकल्प गर्न आएका हौँ । यो संकल्प सभा पनि हो । एकता गर्ने कोशिस त विगतमा पनि गरेका हौँ । यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो । यो आत्मसमीक्षाको परिणाम हो । रुपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो । देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिवद्धता व्यक्त गर्दछौँ ।’
संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताउनु भयो ।



