एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले कब्जा गरिएका घरजग्गा फिर्ता लिन आउनेलाई लखेट्ने धम्की दिनुभएको छ । सरकार र उहाँकै दलका अध्यक्ष प्रचण्डसहितले सात बुँदे सहमतिमार्फत् युद्धकालमा पार्टीले कब्जा गरेका सबै घरजग्गा सम्पत्ति फिर्ता गर्ने बचनवद्धता जनाएका बेला उहाँले उल्टै लखेट्ने धम्की दिनुभएको हो ।
सहमति कार्यान्वयन गराउन अध्यक्ष प्रचण्डसहित नेताहरु सबैभन्दा बढी जग्गा कब्जा गरिएको वर्दियामा पुगेर जग्गा फिर्ता गर्न निर्देशन दिएका बेला थापाले भने अध्यक्षको कदमलाई नै चुनौति दिनुभयो । संविधानबाट भूमिसुधारको व्यवस्था गरे मात्र कब्जा गरिएको घरजग्गा फिर्ता गरिने प्रष्ट गर्नुभयो । विराटनगरमा सञ्चारकर्मीहरुसँग महासचिव थापाले किसानसँग जमिन खोसिए सशक्त प्रतिकार गरिने चेतावनी दिनुभयो ।
सुनसरीको धरानमा हुने कार्यक्रममा सहभागी हुन पुगेका माओवादी सचिव सीपी गजुरेलले भने बाम पार्टीहरुबीच मोर्चा बनाउनुपर्ने बताउनुभयो । पार्टीभित्रको अन्तरविरोध जायज रहेको उहाँको तर्क थियो ।