



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेको ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्बजनिक कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्बजनिक गरिने भएको छ भने सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता सोमबार बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ ।

२- नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको ११औं महाधिवेशनको बन्द सत्र बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् । यसअघि आजै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पदमा नबस्ने घोषणा गरेका थिए ।
३- अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । न्यूसाउथ वेल्स प्रहरीले १२ जनाको मृत्यु भएको र दुई प्रहरीसहित २९ जना घाइते भएको जानकारी दिएको छ । प्रहरीले यस घटनालाई आतंकवादी घटना घोषणा गर्दै यो सिड्नीमा रहेका यहूदी समुदायलाई लक्षित गरिएको बताएको छ । आइतबार दिउँसो उत्तरी बोन्डी समुद्र तटमा साता लामो उत्सव मनाउने तयारीमा रहेका यहूदीहरुमाथि गोली चलाइएको थियो । दुई जना कालो पोशाक लगाएका दुई युवाहरूले अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरिसकेको र एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनापछि राष्ट्रिय सुरक्षा संयन्त्रको बैठक बोलाएका छन् ।

४- नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ । यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ । राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९-२० को सिजन जितेको थियो ।
५- प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्लेषण समावेश गरी तयार गरिएको ‘आठौं वार्षिक प्रतिवेदन’ वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
६- गोकर्णेश्वर नगरका पुर्व मेयर एवं काँग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ बिगो कायम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे मेयर हुदा अकुत सम्पत्ति कमाएको भन्दै मुद्धा दायर गरेको हो । २०७४ देखि २०७९ सम्म मेयर हुदा चालिसेसहित उनका परिवारका सदस्यको कुल आय ४ करोड ८८ लाख ३५ हजार देखिएकोमा अनुसन्धानको क्रममा उनीहरुको सो समयमा ८ करो ५६ लाख ८३ हजारको कुल सम्पत्ति देखिएको जनाउदै अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ को स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले चालिसेसहित उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे र बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । चालिसे २०७९ को आम निर्वाचनमा काठमाडौँ-३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी संघीय संसदको अर्थ समितिको सभापति समेत थिए ।
७- साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा खेलको ५२औं मिनेटमा रश्मि घिसिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । अब एपीएफले अर्को खेल डिसेम्बर १७ मा भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने तालिका रहेको छ ।
८- उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी दिएकी हुन् । राष्ट्रपतिको कार्यालयलले प्रधानमन्त्रीको सिफारिसमा भदौ २७ मा गठित मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरेको जानकारी दिएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैले सम्हालेकी थिइन् ।
९- नेकपा एमालेका रूपन्देही जिल्ला सचिव तथा पुर्वमेयर चित्र बहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आइतबार रूपन्देहीको सैनामैना नगरमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत कार्की रास्वपा प्रवेश गरेका हुन् । कार्कीसहितलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।
१०- युएइमा डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई भब्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेलकुद संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई स्वागत गरेका हुन् । बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो पदक बनेको छ । ऐतिहासिक सफलतासामु पुग्ने क्रममा चन्द्रले ५४ केजी तौल समूहका इरानी बक्सर मेहदी काजेमीलाई युनानिमाउस डिसिजनका आधारमा ५: ० ले पराजित गर्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा नेपालले उपस्थितिलाई गर्विलो बनाएका छन् । यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल स्थान बनाएका थिए । प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका थिए । यससँगै उनले ७५ हजार अमेरिकन डलर (अमेरिकी डलर) हात पारेका छन् ।
११- नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ४ अर्ब ७४ लाख ५५ हजार ७७ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटी होटलको शेयर ६.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंक लिमिटेडको प्रमोटर शेयर २६ करोड १८ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १८ करोड ८७ लाख कारोबार भएको छ ।
१२- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
१३- मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
१४- नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ । जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।
१५- इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक रूपमा राएद सईदको मृत्युको पुष्टि गरेको छैन । राएद हमास अल-कासिम ब्रिगेडका प्रमुख कमाण्डर थिए । अल जजीराका अनुसार, सईदले हमासको हतियार उत्पादन नेटवर्कको नेतृत्व गर्थे र अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको षड्यन्त्रमा संलग्न थिए । हमासले भने राएद गाजा शहर बटालियनका पूर्व प्रमुख भएको बताएको छ । इजरायलले युद्धविरामको बावजुद सईदले हमासको क्षमतालाई पुन: बलियो बनाउन र हतियार निर्माण गर्न काम गरिरहेको आरोप लगाएको छ, जुन सम्झौताको उल्लङ्घन हो । हमासले इजरायली सैनिकमाथि आक्रमण गरेपछि यो आक्रमण भएको हो । आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पछि सईदलाई लक्षित गर्ने आदेश दिएका थिए । इजरायल डिफेन्स फोर्सेसले सईद गाजा शहरको पश्चिमी भागमा यात्रा गरिरहेको वास्तविक समयको गुप्तचर सूचना प्राप्त भएपछि उनीमाथि आक्रमण गरेको बताएको छ । अरब गुप्तचर अधिकारीहरूका अनुसार, रईद विगत दुई वर्षदेखि गाजा शहर मुनि रहेको हमासको सुरुङमा लुकेर बसेका थिए । हमासले इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ। अर्कोतर्फ, हमासले सईदको मृत्युको पुष्टि गरेको छैन । संगठनले गाजा शहरको पश्चिममा रहेको नाबुलसी जंक्शन नजिकै एक इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, आक्रमणमा पाँच जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन् ।
१६- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको नवौं दिनमा ३०० करोडभन्दा बढी कमाएको छ । पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो शुक्रबार र शनिबार शानदार कमाई गरेको हो । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ३०६.४० करोड कमाएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा ७०.६० करोड भारु कमाएको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१७- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि गत असोज ३१ गते सुनको २ लाख ५८ हजार प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३९०५ मा कारोबार भएको थियो ।
१८- नेपाली कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उपाध्याय प्रतिनिधि सभा, राष्ट्रिय सभाको सांसद हुनुका साथै संबिधान सभाको समेत सदस्य रहेका थिए । उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए । उपाध्यायको अन्तिम दाहासंस्कार धार्मिक परम्परा सोमबार पशुपती आर्यघाटमा हुने परिवार निकटले जानकारी दिएका छन् ।
१९- अमेरिकी प्रशासनले ल्याएको ‘ट्रम्प गोल्ड कार्ड’ भिसाविरुद्ध क्यालिफोर्नियाको नेतृत्वमा २० अमेरिकी राज्यहरूले यस निर्णय विरुद्ध मुद्दा दायर भएको छ । यी राज्यहरूले भिसाको शुल्क पूर्ण रूपमा गैरकानूनी भएको र अस्पताल, विद्यालय, विश्वविद्यालय र सरकारी सेवाहरूमा पहिले नै अवस्थित डाक्टर र शिक्षकहरूको अभावलाई अझ खराब बनाउने तर्क गरेका छन् । राष्ट्रपति ट्रम्पले एक मिलियन डलर शुल्क लिएर विश्वका कुनै पनि व्यक्तिलाई अमेरिकी गोल्ड कार्ड भिसा दिने योजना घोषणा गरेको केहि दिनमै अदालतमा मुद्धा परेको हो । क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले यी भिसाहरू डाक्टर, नर्स, इन्जिनियर, वैज्ञानिक र शिक्षकहरू जस्ता उच्च कुशल पेशेवरहरूका लागि भएको र जब विश्वभरबाट प्रतिभा अमेरिका आउँछन्, सम्पूर्ण देशको प्रगति हुने बताएका छन् । क्यालिफोर्नियासँगै, न्यूयोर्क, इलिनोइस, वाशिंगटन र म्यासाचुसेट्स सहित २० प्रमुख राज्यहरू यस मुद्दामा संलग्न छन् । राज्यहरूले एच- १ बी भिसा शुल्क पहिले एक हजारदेखि ७ हजार ५०० डलरसम्म रहेको तर्क गर्दै कंग्रेसको स्वीकृति बिना अचानक तिनीहरूलाई बढाउनु गैरकानूनी भएको बताएका छन् । यसबाहेक, यी शुल्कहरू भिसा प्रशोधनको वास्तविक लागत भन्दा सयौं गुणा बढी रहेको र यसलाई प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घनको रुपमा उनीहरुले ब्याख्या गरेका छन् । राज्यहरूले ट्रम्प प्रशासनको यस निर्णयले सरकारी र गैर-नाफामुखी संस्थाहरूमा सबैभन्दा ठूलो प्रभाव पार्ने बताएका छन् । स्कूल, विश्वविद्यालय र अस्पतालहरूले पहिले भिसा छुटहरू प्राप्त गर्थे, तर अब प्रत्येक विदेशी शिक्षक वा डाक्टरलाई ल्याउन एक मिलियन डलर खर्च हुनेछ । यसले यी संस्थाहरूलाई उल्लेखनीय आर्थिक कठिनाइको सामना गर्नुपर्नेछ । तिनीहरूले या त सेवाहरू घटाउनेछन् वा अन्य आवश्यक कार्यक्रमहरूबाट कोष कटौती गर्नेछन् ।

२०- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा दुवै गोल आत्मघाती गोल भएका थिए । वोल्भ्सका साम जोनस्टोन र यर्सन मोस्क्यूराले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि एक गोल टोलु अर्कोकोडारले गरेका थिए । यो जितपछि आर्सनलको १६ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गरेको थियो भने चेल्सीले एभर्टनलाई पनि २-० ले पराजित गरेको थियो । त्यस्तौ फुलहामले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि लिभरपुलको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ भने चेल्सीको १६ खेलमा २८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।



