



काठमाडौँ । विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फ्रेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालमा पाँचौंपल्ट हुने भएको छ ।
आइओएफटिसी नेपालको आयोजनामा आगामी बिहीवारदेखि पुष ५ गतेसम्म इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपको १५औं संस्करण काठमाडौंमा हुने भएको हो । यो आयोजना दुई वर्षको अन्तरमा विभिन्न देशमा गरिँदै आएको छ ।

नेपालमा पाँचौंपल्ट यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । आइओएफटिसी नेपालले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

नेपालसहित दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, अमेरिका, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत गरी एक हजार खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन् । तेक्वान्दोमार्पmत विभिन्न देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध पनि स्थापना गर्ने उद्देश्यअनुरूप यो प्रतियोगिता सन् २००० देखि शुरु गरिएको हो । इन्टरनेसनल ओपन पे्रmन्ड्सिप तेक्वान्दो च्याम्पियनसिपको २५ वर्ष पूरा भएको अवसरमा यो प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको आइओएफटिसी अमेरिकाका संस्थापक तथा निर्देशक दिवाकर महर्जनले जानकारी दिए । यसको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो ।
यो प्रतियोगिता पालैपालो अमेरिका र अमेरिकाबाहिर हुँदै आएको छ । हालसम्म पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ, अमेरिकाकै मिसिगन र दक्षिण कोरियाको सोलमा समान एक संस्करण सम्पन्न भइसकेका छन् । पाँचौंपल्ट नेपालमा हुन लागेको च्याम्पियनसिप वल्र्ड तेक्वान्दो (डब्लु) को नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा क्योरोगी (फाइट) र पुम्से गरी दुई विधामा प्रतिस्पर्धा हुने भएको छ । सिनियर पुरुष र महिलामा समान ८ तौल समूह तथा जुनियर र क्याडेटमा समान १० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेमा व्यक्तिगत, पेयर र टिम इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

साथै बोर्ड ब्रेकिङ इभेन्टमा पनि प्रतिस्पर्धा गर्ने च्याम्पियनसिपको इन्टरनेसनल कोअर्डिनेटर अशोक खड्काले जानकारी दिए । यस प्रतियोगितामा कुल दुई सय २२ स्वर्ण, दुई सय २ रजत र चार सय ४४ कांस्य पदकका लागि करिब एक हजार खेलाडीले प्रतिस्पर्धा हुनेछ । १५औं संस्करणलाई भव्य बनाउने आयोजकले जनाएको छ । अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना गरिने र जसले नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश दिने आयोजकको विश्वास छ । यो प्रतियोगिता नेपाली खेलाडीका लागि सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औं संस्करणको छनोटसमेत रहेको आयोजकले जनाएको छ ।
विजेता तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ । ओलम्पिक क्याटगोरी (पुरुष र महिला समान तीन तौलसमूह) मा विजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ । यो प्रतियोगिता आइओएफटिसी युएसए, नेप्लिज तेक्वान्दो एकेडेमी र कोटेश्वर तेक्वान्दो डोजाङको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद्, युएनटिएफ, डाएडो र युएसए वल्र्ड क्लास तेक्वान्दो हलिउड (अमेरिका) को सहयोग हुँदैछन् । यस प्रतियोगितामा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन् । सिओले प्रतियोगिताको पहिलो दिन पुम्से सेमीनारमा प्रशिक्षण पनि दिनेछन् ।



