आज विश्व एड्स दिवस

अतुल मिश्र, ईकान्तिपुर

 

काठमाडौ – धेरैले ठान्छन्- एचआईभी संक्रमण जीवनको अन्त्य हो । तर यो अधुरो सत्य हो । प्रमाणहरू बोल्छन्- एचआईभी संक्रमित कतिपय नेपाली चिकित्सा निगरानीमा लामो समय सामान्य अवस्थामै छन् । ‘१३ वर्षदेखि औषधि खाइरहेका अझै स्वस्थ छन्,’ वीर अस्पतालका डा. सुशील शाक्य भन्छन्- ‘एचआईभी संक्रमण थाहा भएको १८ वर्ष बित्दा समेत औषधि खाने अवस्थामा नपुगेका पनि छन् ।’

सरकारी तथ्यांकअनुसार दिनहुँ करिब ६ जना नेपाली एचआईभी संक्रमित हुने गरेका छन् भने बर्सेनि ४ हजार ९ सय ६ जनाको मृत्यु एड्सका कारण हुन्छ । हाल मुलुकभर ५५ हजार ६ सय २६ संक्रमित रहेको अनुमान छ । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)का अनुसार एचआईभी हाल व्यवस्थापन गर्न सकिने दीर्घकालीन रोगका रूपमा देखिन थालिएको छ । डा. शाक्यका अनुसार स्वस्थकर जीवनशैली, खानपान, औषधिमा नयाँ सुधार र निरन्तर चिकित्सकीय परामर्शमा रहनाले यस्तो सुधार आएको हो ।

एचआईभी भाइरस शरीरमा प्रवेश गरेपछि शरीरको प्रतिरोधक क्षमता बिस्तारै कम हुन थाल्छ । यसले जिउमा विभिन्न प्रकारका रोग र संक्रमण गर्ने जीवाणुहरूले आक्रमण गर्न थाल्छन् । एचआईभी संक्रमण भएको केही वर्षपछि यी सबै रोगका लक्षण देखिन सुरु हुन्छ । यही स्थितिलाई एड्स भनिन्छ । यसको कुनै उपचार छैन । एकपटक शरीरमा आएपछि यो भाइरस जीवनभर रहन्छ ।

एन्टिरेट्रो भाइरल औषधिको माध्यमले जीवन लम्याउने गरिन्छ । ‘एचआईभी पोजिटिभ भएपछि एड्स हुनुसम्मको समयलाई औषधि, सकारात्मक जीवनशैली, विभिन्न बचाउको उपायको माध्यमले बढाउन सकिन्छ,’ शाक्य भन्छन्, ‘३० वर्षमा संक्रमण भयो भने चिकित्सकीय परामर्श र जीवनशैली परिवर्तन गरेर ५० वर्षसम्म औषधिबिनै रहन सकिन्छ ।’ अनि ५० वर्षको उमेरमा औषधि खाँदा अझ केही दशक सहजै बाँच्न सकिने उनी बताउँछन् । एचआईभी संक्रमितले चुरोट, रक्सी, सुर्ती, ड्रग सेवन तुरन्त छोड्नुपर्ने उनको भनाइ छ ।

डा. शाक्यका अनुसार एचआईभी संक्रमणको २२ वर्ष पछि औषधि खानुपरेको समेत उदाहरण छ । सरकारले शुक्रराज ट्रोपिकल सरुवा रोग अस्पतालबाट सात वर्ष अघिदेखि निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सुरु गरेको छ ।

हाल मुलुकको ३६ वटा केन्द्रबाट औषधि वितरण हुन्छ । ‘अहिले ५ हजार ८ सय ७६ जनाले औषधि खाइरहेका छन्,’ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.रमेशकुमार खरेल भन्छन् । एचआइभी परीक्षण मुलुकको ७५ जिल्लामा गरिन्छ ।