वर्तमान सरकार अहिलेसम्मकै सबभन्दा कलङ्कित भएको एमालेको आरोप


 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ठूलो मन्त्रिपरिषद् बनाएर वर्तमान सरकार अहिलेसम्मकै सबभन्दा कलङ्कित भएको आरोप लगाएका छन्। एमाले बाग्मती अञ्चल सम्पर्क कमिटीद्वारा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष खनालले वर्तमान सरकार थप लम्बिन नहुनेमा जोड दिए।

 

उनले सरकारले युवा स्वरोजगार कार्यक्रमको दुरुपयोग गरेकामा खेद व्यक्त गर्दै यसको विरोधमा उत्रिने पनि बताए। एमालेले प्रस्ताव गरेकै हाराहारीमा समायोजित हुने माओवादी सेनाको सङ्ख्या छ हजार पाँचसयमा सहमति भएको दाबी गर्र्दै उनले संविधान लेखनमा पनि एमालेको प्रस्तावअनुसार अघि बढेमा सहमति जुट्न सक्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सो कमिटीद्वारा प्रकाशित ‘बाग्मती दर्पण’ को लोकापर्ण पनि गरियो।


कार्यक्रममा एमालेका केन्द्रीय सम्पर्क विभागका प्रमुख अष्टलक्ष्मी शाक्य, कमिटीका अध्यक्ष कुमार खकुरेल र ‘वाग्मती दर्पण’ का कार्यकारी सम्पादक श्यामकुमार बस्नेतले एमालेका सम्पर्क कमिटीहरुको सञ्चालन र प्रभावकारिताका विषयमा बोलेका थिए।


यसैबीच, नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले आगामी फागुनको तेस्रो साता आयोजना हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको तयारीका लागि केन्द्रीय सचिव युवराज ज्ञवालीको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।


परिषद् बैठक आगामी फागुण २१ देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ। स्थायी कमिटीको बैठकले ‘पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान, २०६८’ लाई पारित पनि गरेको छ।


व्यवस्थापन समितिमा अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाइँ,. विष्णु रिमाल, विजय सुब्बा, अरुण नेपाल, राजेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, डा. विजय पौडेल, परशुमेघी गुरुङ्ग, जीतु गौतम, भानुभक्त ढकाल, विनोद श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ, रामेश्वर फुयाँल, सुशीला नेपाल। गोमा देवकोटा, महेश बस्नेत, प्रेम दंगाल र माधव ढुङ्गेल रहेका छन्।


यसैगरी, आजको बैठकले युवा स्वरोजगार कोषको दुरुपयोग तत्काल रोक्नको लागि युवासङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा सरकारले गरेको दमनप्रति खेद व्यक्त गरेको छ।


विभिन्न दातृ निकाय तथा संस्था र वित्तीय संस्थाहरु समेतको आर्थिक सहभागितमा स्थापित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम एकीकृत मओवादी नेता तथा कार्यकर्तालाई पालनपोषणा गर्न वितरण भइरहेको दाबी एमाले गरेको छ।


कोषको रकमको दुरुपयोग तत्काल रोक्न, सरोकारवालासँगको सहमतिमा अघि बढ्न र सातबुँदे सहमति विपरीतका कार्यहरु नगर्न एमालेले आग्रह गरेको स्थायी समितिको बैठकपछि सचिव ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस